डम्बर बराल
मेचीनगर । मेचीनगर– १५ ग्वाल बस्तीकी बिमला राजवंशीकोले मेची नदीमा झोलुङ्गे पुल बन्छ भनेर सुनेको दशकौं भयो । हरेक निर्वाचन ताका भोट माग्न आएका नेताहरुले ग्वाल बस्तीको विकासका लागि लागि पर्ने आश्वासन दिने गरेको भएपनि निर्वाचन पछि फर्किएर नआएको उनले दुखेसो पोखिन् ।
‘हरेक निर्वाचन ताका नेताहरु आएर पुल सडक र खानेपानीको प्रवन्ध गरिदिने आश्वासन दिन्छन्,’ उमेरले ७० नाघेकी राजवंशीले भनिन्, ‘यहीँको माटोमा संघर्ष गर्दा गर्दै हाम्रा सासु ससुराको जीवन बित्यो, यस बीचमा धेरै पटक राजनीतिक परिवर्तन भए । तर, हाम्रो जीवनमा परिवर्तन आएन, हाम्रो भाग्य र भविष्य मेची नदीले खोसिदियो ।’ नेपालले नदेखेको र भारतले नहेरेको मेचीपारि दुई बस्ती ग्वाल बस्ती र सिसौडाँगी छन् । जुन ठाउँ विकासको पूर्वाधारबाट मात्र पछि परेको छैन । यहाँका जनता शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत कुराहरुबाट समेत बन्चित छन् ।
बिगत ३ वर्ष अघि पूर्व मेयर बिमल आचार्यको पालामा ग्वाल बस्तीमा बिजुलीबत्ती पुगेको भएपनि सिसौडाँगीबासी भने अझै अध्यारोमै जीवन निर्वाह गरिरहेका छन् । केही वर्ष अघिसम्म ३६ घरपरिवार रहेको ग्वाल बस्तीका जनता वर्षेनी मेची नदीको कटानबाट विस्थापित हुँदै गएका छन् सो क्षेत्रमा हात २२ घर परिवार संघर्षपूर्ण जीवन बिताउँदै आएको छन् । ‘केही वर्ष अघिसम्म हामी ३६ घर परिवार थियौं । वर्षेनी नदीले कटान गरेपछि १४ घर विस्थापित भइसक्यो,’ बिमलाले भनिन्, ‘नदी तटबन्धन र पुल निर्माण नभए पुरै गाउँ विस्थापित हुने सम्भावना छ ।’
मेची नदीमा पुल नबन्दा यहाँका जनताले शिक्षाको पहुँचबाट समेत बन्चित हुनु परेको छ । सो क्षेत्रमा एउटा मात्र प्राथमिक विद्यालय छ । सो भन्दा माथिको शिक्षा लिन सो क्षेत्रका बालबालिकाले ठूलो चुनौतिको सामना गर्नुपर्छ । वर्खायाम सुरु भएपछि विद्यालय जान समस्या छ । ‘खोला बाधक बनेपछि हामीले पनि पढ्न सकिनौं,’ स्थानीय कुमार राजवंशीले दुखेसो पोखे । उनका अनुसार पारिवारिक अवस्थाले टाढा गएर पढ्न सक्ने अवस्था छैन । विद्यालय नभएपछि यस क्षेत्रका धेरै मानिसले पढ्न सकेका छैनन् । खोला नबढेको अवस्थामा मात्र आफूहरु उपचार गर्न र आफ्नो उत्पादन बिक्रिको लागि नेपाल तर्फ जाने गरेको उनको भनाइ छ ।
उता सिसौडाँगीका बासिन्दाको पीडा त्यो भन्दा कम छैन । १३ घर परिवार रहेको सो गाउँमा नत बिजुली बत्ती छ, नत खानेपानीको प्रवन्ध यहाँका नागरिक बजार भर्न तथा आफ्नो उत्पादन बिक्रिको लागि भारतीय बजार जानुको विकल्प नभएको बताउँछन् । बाटो र पुल नभएपछि उनीहरु आफ्नो उत्पादन बिक्री र खरिदको लागि नेपाली बजार भन्दा भारतीय बजारलाई रोज्न बाध्य छन् । वर्षमा एकपटक सम्पत्तीकर तिर्न भने उनीहरु नेपालतर्फ १५ नम्बर वडा कार्यालय पुग्ने गरेका छन् । धान, मकै, तरकारी खेती गरेर जीवन निर्वाह गर्दै आएका सो क्षेत्रका नागरिकले नेपालबाट कुनै सुविधा लिन नपाएको दुखेसो गरेका छन् ।
स्थानीय राजन बास्की भन्छन्, ‘हामीले विकास के हो ? अनुभूति गर्न पाएनौं । हामी त भूगोलले ठगिएका रहेछौं । आज ३२ वर्षको भएँ, खोलापारि बत्ती बलेको हेरेर उज्यालेको अनुभूति गरिरहेको छौं ।’
त्यहाँका स्थानीयले नानीहरुलाई पढाउन भारतीय विद्यालय पठाउने गरेका छन् । आफ्नो भाषा, राष्ट्र र राष्ट्रियता नानीहरुले कसरी सिक्छन् ? स्थानीय सुभल पानले चिन्ता व्यक्त गरेका छन् ।
वि.सं. २०२१ देखि सिसौडाँगीमा बसोबास गर्दै आएका ७० वर्षीय सुधिर घोषले गाउँमा विकास निर्माण र कुनै सुविधा नभएका कारण बसाई हिँड्ने क्रम बर्षेनी बढ्दै गएको बताए । बसाई हिँड्ने क्रम बढेपछि वस्तीका कतिपय खेत बाझैं रहने गरेको छ । घोषले भने, ‘यहाँबाट बसाई सरेकाहरु फर्किएर आउन मान्दैनन्, कतिको खेती बाँझै छन्, कतिले भारतीय नागरिकलाई ठेक्कामा दिएका छन् ।’
प्रतिकृया दिनुहोस्