समाजका असली अभियन्ता ढुंगाना

2023-05-21 मा प्रकाशित

डम्बर बराल
झापा । एउटा काँधमा फोहोर बोक्ने बोरा, लामो कपाल, क्याप टोपी पहिरिएर खुट्टामा घुँडासम्म आउने प्लाष्टिकका बुट, अनि धुलोमैलो कपडा सधै उनी यही हुलियामा सडक किनारमा फोहोर टिप्दै गरेका भेटिन्छन् ।
उनी अर्थात अर्जुनधार–११ निवासी सामाजिक अभियन्ता गणेश ढुंगाना । फोहोर टिपेर आफ्नो जीवन निर्वाहको लागि उनी सडकमा आएका भने होइनन् । फोहोरको कारण आफ्नो समाज कुरुप बन्दै गएको देखेपछि १० वर्ष अघि सुन्दर समाज निर्माण अभियानमा निस्किएका ढुंगाना आज दिन दुःखी र असहायको लागि सहारा बन्दै गएका छन् ।
पछिल्लो समय ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ नामक संस्था दर्ता गरेर समाज रुपान्तरणको लागि अघि बढेका ढुंगाना यतिखेर असहाय, अपाङ्गता भएका व्यक्तिहरु बस्ने आवास निर्माणको लागि अभियान नै थालेका छन् । उनले यही अभियानलाई सफल पार्न थोत्रा प्लास्टिक तथा टुटेफुटेका सिसा संकलनको कामलाई तीब्र पार्दै लगेका छन् ।


अभियानका अभियन्ता ढुंगानाले स्वच्छ समाज निर्माणको लागि आफूले १० वर्ष अघिबाट फोहोर व्यवस्थापनलाई अभियानको रुपमा अघि बढाएको बताए । ‘फोहोरको सही व्यवस्थापन नहुँदा देश तथा समाज कुरुप भइसक्यो,’ अभियन्ता ढुंगानाले भने, ‘आज स्वच्छ समाज निर्माणको लागि १० वर्षदेखि हरेक दिन फोहोर टिप्दै अघि बढेको छु । यो अभियान यतिखेर विपन्न र असहायहरुको लागि जीवन जिउने आधार बनेको छ ।’
ढुंगानाले फोहोर संकलन गरेर त्यसको बिक्रीबाट प्राप्त रकमले अर्जुनधारा –११ स्थित देउनीया खोलाबाट ३ किमी उत्तरमा अनाथ आश्रम निर्माण लागि अभियानै सुरु गरेका छन् । उनको यो अभियानमा पछिल्लो समय मनकारी मन र हातहरु जोडिने क्रम बढेको छ ।
सुरुका दिनमा यस अभियानमा आउन समाज र परिवारबाट निक्कै चुनौतीको सामना गर्नु परेको तितो यथार्त सुनाउँदै उनले भने, ‘सुरुमा यो त पागलै भएछ पनि भने तर म बिचलित नभई निरन्तर अभियानमा लागि रहेँ अहिले सबै क्षेत्रको साथ पाएको छु ।’


आश्रम निर्माणको लागि जग्गा खरिद गर्न बिभिन्न दाताहरुले सहयोग गरिरहेको उनले बताए । यस अभियानका अभियन्ता ढुंगानाले स्वयम् रु ५० हजार कोषमा जम्मा गरेका छन् भने कनकाई नगरपालिका वडा नम्बर ९ का समाजसेवी शेरबहादुर थापाबाट रु १ लाख, बिर्तामोड नपा ६ का सूर्य प्रसाद कन्दङ्वाबाट रु १ लाख, बिर्तामोड नपा ५ का डिल्ली प्रसाईबाट रु १ लाख, अर्जनधारा –११ का कृष्ण गिरीबाट रु १ लाख, अर्जुनधारा–११ कै अरुण कुमार डाँगीबाट रु १ लाख, निमा तामाङबाट रु ५० हजार प्राप्त भइसकेको उनले बताए ।
‘१० वर्ष अघि स्टाप चोकमा आएर रोकिएको एउटा रातो गाडीबाट एक जना महिलाले पानीको बोतल फ्याक्दा आफ्नो शरिरमा लागेपछि सो बोतल टिपेर फोहोर टिप्ने अभियान सुरु गरेँ,’ ढुंगानाले भने, ‘फोहोर र प्रदुषणले समाज कुरुप हुँदैछ, स्वच्छ समाज निर्माणमा कसैको ध्यान गएको देखिन त्यसैले स्वास्थ्य समाजको लागि सामाजिक अभियान सुरु गरेँ ।’

माओवादीका पूर्व लडाकु समेत रहेका ढुंगानाले सेना समायोजन हुँदा आफूले पाएको सम्पूर्ण रकम नयाँ नेपाल निर्माणको अभियानमा जम्मा गरेको बताए । उनले भने, ‘माओवादीमा हुँदा आफूले पाएको सम्पूर्ण सेवा सुविदा राज्यलाई दिएको छु, यो मेरो सामाजिक अभियानको पहिलो योगदान हो ।’
आर्थिक रुपमा आफू कमजोर हुँदा हुँदै पनि सामाजि क्षेत्रमा लाग्ने बलियो इच्छा शक्ति भएपछि उनलाई पारिवारिक उल्झनले बाँध्न सकेन । २०५८ सालमा सरसफाइ अभियानमा जुटौं सुन्दर समाज निर्माण गरौं भन्दै मेची महाकाली पैदल यात्रा गरेका ढुंगानाले त्यपछि २०५९मा झापाको पृथ्वीनगरदेखि विश्वशान्तिको कामना गर्दै दोस्रो पैदल यात्रा पुरा गरेका थिए । परोपकार नै धर्म हो भन्ने कुरालाई आत्मसाथ गरेर अरुको सेवामा निरन्तर सक्रिय रहेका उनले खालीखुट्टा हिँडेरै केही आर्थिक संकलन गरेर अर्जनधारा–६ मा दुर्गा भवानी मन्दिर समेत निर्माण गर्न सफल भएको उनले सुनाए ।
गीत र संगीतमा उत्तिकै चासो राख्ने ढुंगानाले हस्त परियारको प्रेरणामा पाउ पाथीभरा भजन संग्रह तयार पारेका छन् । त्यसमा शब्द र संगीत उनको आफ्नै छ । उनको यो अभियानमा उनका श्रीमती सविता र छोरा सन्देशको उत्तिकै साथ छ । घरको सबै काम श्रीमती र छोरा बुहारीले समालेका छन् । उनले भने, ‘घरको जिम्मेवारी श्रीमतीले समालेपछि आफू निरन्तर सामाजिक अभियानमा छु । उनले यो अभियानलाई सफल पार्न समाजसेवी जगत राना मगर, रञ्जित परियार, मोहनकुमार योगी, अरुणकुमार डाँगी, अमेरिकामा रहेका बीपी कोइराला, शेरबहादुर थापा लगायत अरु धेरैको सहयोगले अभियानले सार्थकता पाउँदै गएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु