विद्यार्थीहरुको लागि सिकाइ केन्द्र बन्दै मेचीनगरको ग्लोवल एग्रो एण्ड नर्सरी

2024-07-24 मा प्रकाशित

डम्बर बराल

मेचीनगर । मेचीनगर– १० स्थित ग्लोवल एग्रो एण्ड नर्सरी पछिल्लो केही वर्षयता कक्षा १२ अध्ययनरत विद्यार्थीहरुको लागि सिकाइ तथा अध्ययन केन्द्र बन्न थालेको छ ।
यस फर्ममा कृषि विषय लिएर पढेका विद्यार्थी ओजेटी (तीन महिने कोर्ष) गर्न आउने क्रम बढ्दो छ । झापा गाउँपालिकास्थित जनता माविको कक्षा १२ मा अध्यनरत दिपेश थापा विगत २ महिनादेखि यस फर्ममा विरुवा रोपण, उत्पादनदेखि विक्री वितरण लगयतका काममा उत्साहका साथ लागि परेका छन् । उनी यस फर्ममा जागिर खान भने आएका होइनन् । कक्षा १२ मा कृषि विषय अध्ययन गर्दा १ सय दिन कृषिमै ओजेटी गर्नुपर्ने भएपछि उनी यस फर्ममा आएका हुन् ।
यस फर्ममा दिपेश मात्र होइन, उनीसँगै सोही विद्यालयमा अध्ययनरत निर्जल कार्की, निरज राजवंशी, नेत्र राना मगर र उदय गणेश समेत रहेका छन् । उनीहरुको यतिखेर एउटै लक्ष छ, बीएससी एग्रीकल्चर सकेर अध्ययनको लागि कोरिया जाने, उतै काम गर्ने र आमा बुवालाई सुख दिने । उनीहरु आफ्नो काममा निक्कै उत्साहित भएर लागेका छन् । विरुवाको रेखदेख गर्दै गरेको अवस्थामा भेटिएका दिपेशले भने, ‘नेपालमा खासै भविष्य देखेका छैनौं, बीएससी सकेर पढाइको लागि कोरिया जाने लक्ष्य छ ।’


यस फर्ममा अघिल्ला वर्षहरुमा पनि झापा जिल्लाका विभिन्न कलेजहरुबाट विद्याथीहरु आउने गरेको फर्मका सञ्चालन दीपक नेपालले बताए । नेपालले २०७४ फागुन २२ गते ग्लोवल एग्रो एण्ड नर्सरी फर्म दर्ता गरेर ब्यावसायिक रुपमा विभिन्न प्रजातिका विरुवा बिक्री वितरण गर्दै आएका छन् । हुन त उनले २०६३ सालबाट बिरुवा विक्री वितरणको काम सुरु गरेका थिए । सानो पूँजीबाट सुरु भएको उनको फर्ममा हालसम्म करिव अढाई करोड बढी लगानी भइसकेको छ ।
करिव दुई विगाह क्षेत्रफलमा फैलिएको उनको कृषि फर्ममा विभिन्न विरुवालाई चार भागमा विभाजन गरेर उत्पादन गरिरहेका छन् । काठजन्य, जडिबुटी, धार्मिक विरुवा र फलफूलका प्रजाति उत्पादन भइरहेको छ । उनले घर, पसल, सजाउने इण्डोर र आउट डोरका विभिन्न प्रकारका फूल, आँप, लिची, सुपारी लगायत विभिन्न प्रजातिका विरुवा हर्राे, बर्राे, अमला, जटामसी अनि जडिबुटी तथा टिक खँवारी, मसला, कदम लगायतका काठजन्य विरुवा समेत उत्पादन गरेर विक्री गरिरहेका छन् ।


फर्ममा विशेषगरी डूाइगन फुड, एवोकाडो, ओखर, इकाइनट, मिकाडमिनट लगायत विभिन्न फल तथा अगरउड, सेन्डरउड, पचौली, लेवन ग्रास , सिटोनेला तथा बिभिन्न प्रजातिका फूलहरु उत्पादन गरेर देशका विभिन्न भागमा निर्यात गरिहेको उनले बताए । नेपालले आफ्नो फर्ममा २० जना स्थानीयहरुलाई रोजगारी समेत दिएका छन् । १० जना नियमित कर्मचारी रहेका छन् भने अरु १० जनाले हाजिरामा काम गर्ने गरेको उनले बताए ।
साथीभाइ पैसा कमाउन बैदेशिक रोगजारीमा जाने लहर चलेका बेला उनले भने फल र फूलका विरुवाको नर्सरी सुरु गरे । फूलका विरुवा बेचेर पनि पैसा कमाइन्छ भनेर धेरैले उनलाई त्यसबेला खिल्ली उडाएका थिए । धेरै मेहनत र संघर्ष गरेर दुईचार पैसा कमाउन थालेको समयमा एउटा कम्पनीले धोका दिएपछि ठूलो क्षति व्यहोरेका दीपकले महालक्ष्मी कृषि सहकारीबाट स्वरोजगार कर्जा लिएर व्यावसायिक रुपमा नर्सरी व्यवसायमा होमिएका उनी हाल देशमै सफल व्यवसायी बनेका छन् । उनले भने ‘बजारको अभाव छैन, देशका विभिन्न जिल्लामा फल, फूलका विरुवाको माग बढेको छ ।’
आफुसँग धितो नभएको बेला र पार्टीबाट ठगिएर व्यवसाय नै छोड्ने मनसायमा पुगेको अवस्थामा स्वरोगारबाट २ लाख रुपैयाँ कर्जा लिएर नर्सरी ब्यवसायमा जमेर लागेका हुन् ।
दीपक भन्छन्, ‘बजारको अभाव छैन, सबै क्षेत्र खाली छ, देशभरबाट बिरुवाको माग आइरहेको छ । आफ्नो उत्पादनले नभ्याएर अन्य क्षेत्रबाट समेत फलका विरुवा मागगरेर विक्री गरिरहेको छु ।’
आफ्नो नर्सरी फर्म देशमै सबैभन्दा ठूलो भएको दाबी गर्दै आएका दीपकले राज्यलाई वार्षिक १० लाख बढी कर बुझाउँदै आएको बताए । पछिल्लो समय कृषि पेशामा भविष्य छैन भन्नेहरुको लागि दीपक दर्बिलो उदारहण समेत बन्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु