मेचीनगर पालिकामा सूचना प्रविधिमा आधारित एकीकृत नगरसेवा प्रणाली सुरु

2026-02-10 मा प्रकाशित

मेचीनगर । मेचीनगर पालिकामा आइतबारदेखि एकीकृत नगरसेवा प्रणाली सुरु भएको छ । यो प्रणाली सुरु भएसँगै वडाबाट हुने अधिकांश कामहरु सूचना प्रविधिको माध्यले घरबाटै गर्न सकिने बताइएको छ । सूचनामा आधारित यो प्रणाली आइतबार मेचीनगर ६ वडा कार्यालयबाट सुरु गरिएको हो ।
यहाँ स्थित सामुदायिक भवनमा आयोजित एक कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सेवा प्रारम्भ भएको घोषणा गरेका थिए । उनले अनलाइन सेवाबाट घरमै बसेर वडामा हुने सबै खाले सेवा लिन सकिने बताए । यो प्रणाली सुर भएपछि भ्रष्टचार नियन्त्रण गर्न तथा सुशासन कायम गर्न ठूलो मद्दत पुग्ने उनको भनाइ थियो ।
‘चिनेको नाताले, नाता सम्बन्धले, भोट दिएको सम्बन्धले अनि कार्यकर्ताको सम्बन्धले राज्य सञ्चालनको थुप्रै सेवा प्रभावित हुने गरेको छ ।’, उनले भने, ‘अब नाता सम्बन्ध र कार्यकर्ताको सम्बन्धले काम गर्दैन, सबै कुरा सिष्टममा हुन्छ । हामीले खोजेको सुशासन पनि यही हो ।’
मेचीनगरपालिकाकी उपप्रमु्ख मीना पोखरेल उप्रेतीले जनसंख्या र राजश्व संकलनको हिसावले मेचीनगरमा सबै भन्दा धेरै सेवा प्रवाह वडानम्बर ६ बाट हुने भएकोले पनि ६ नम्बर वडाबाट यस किसिमको सेवा प्रारम्म गरिएको बताइन् ।
सो अवसरमा कार्यक्रमको औचित्य प्रकाश पार्दै मेचीनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए । उनले घरमै बसेर सेवा लिन सकिने बताउँदै अब फाइल बोकेर वडा कार्यालय धाउनु पर्ने समस्या अन्त्य भएको उनको भनाइ थियो । नगरपालिकाले क्रमश नगरका १५ वटै वडामा यो प्रणाली लागु गर्ने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार नगरपालिकाले मोबाइल एप समेत बनाउने तयारी गरिरहेको छ । आधुनिक प्रविधिको प्रयोगले घरघरमै नागरिक सरकार पुगेको अनुभूति दिलाउने उनले बताए ।
कार्यक्रमको सहजीकरण अशोक भेटवालले गरेका थिए । उनले अनलाइन प्रणालीबाट काम गर्ने विधि र प्रक्रिया समेत सिकाएका थिए । वडानम्बर ६ का वडाध्यक्ष ललित बहादुर तामाङको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन वडा सचिव पवित्रा सुब्बाले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु