आदर्श विद्या मन्दिरको २० औं वार्षिकोत्सवमा शिक्षा सेवी निरौला सम्मानित

2026-03-13 मा प्रकाशित

मेचीनगर । मेचीनगर । मेचीनगर–९ स्थित आदर्श विद्या मन्दिरले शुक्रबार आफ्नो २० औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । धुलाबारीस्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले रोचक एकल तथा सामूहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवातमा ‘लाग्दछ मलाई रमाइलो’ बोलको गीतमा रमाउँदै बालबालिकाहरूले नृत्यमार्फत अतिथि एवं अभिभावकहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा आफ्ना नानीहरूको प्रतिभा देखेर अभिभावकहरू समेत हर्षित भएका थिए ।


कार्यक्रमकै बीच प्रस्तुत गरिएको ‘आमा’ शीर्षकको चेतनामूलक नाटकले सहभागी सबैका आँखा रसाएका थिए । साना नानीहरूको राइम्स, फेसन शो, थारु नृत्य, आधुनिक नृत्य तथा ‘हाम्रो भविष्य हाम्रो जिम्मेवारी’ नाटक लगायतका रोचक प्रस्तुतिले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार रेग्मीको सभापतित्व तथा एन–प्याब्सन नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा सेवी एवं साहित्यकार भीमप्रसाद निरौलालाई सम्मान गरिएको छ । श्री सत्य साई सेवा संगठनमा आबद्ध भई लामो समयदेखि सेवा, आध्यात्मिक साधना, शिक्षा, साहित्य तथा मानवीय कार्यमार्फत समाजमा पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई स्व। लीलाकुमार–कौशल्यादेवी श्रेष्ठ स्मृति पुरस्कारद्वारा सम्मान गरिएको हो । उनलाई अक्षयकोषदाता कविन्द्र श्रेष्ठ र रीता श्रेष्ठले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमको अवसरमा विद्यालयले २०८० र २०८१ सालमा कक्षामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई समेत पुरस्कृत गरेको थियो । उत्कृष्ट विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । विद्यालयका प्रिन्सिपल कविन्द्र श्रेष्ठले कार्यक्रमको औचित्य प्रकाश पार्दै आदर्श विद्या मन्दिर मेचीनगरमा छुट्टै पहिचानका साथ स्थापित हुँदै गएको दाबी गरे । उनले संस्कारसहितको शिक्षा आजको आवश्यकता भएको बताउँदै आफ्नो विद्यालयले शिक्षासँगै संस्कारलाई प्राथमिकता दिँदै आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि जयबहादुर श्रेष्ठले २१ औं शताब्दीको ज्ञान र विज्ञानलाई सार्थकता दिन सक्ने विद्यार्थी तयार पार्न सबैले ध्यान दिनुपर्ने बताए । उनले पश्चिमी संस्कृति हाबी हुँदै जाँदा नेपाली परम्परा र संस्कार हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे । सिकाइ ठूला–ठूला किताबका ठेलीमा मात्र नहुने उल्लेख गर्दै उनले जीवनलाई सार्थक बनाउन नैतिकता र आचरण आवश्यक हुने बताए । “फोर जीपीएको मात्र अर्थ हुँदैन,” उनले भने । सरकारले निजी विद्यालयहरूलाई निषेध गर्न खोजेको आरोप लगाउँदै उनले भने, “सरकारले सामुदायिक विद्यालयहरूमा करोडौँ खर्च गरिरहेको छ, तर त्यहाँबाट खासै उपलब्धि देखिँदैन । उपलब्धि निजी विद्यालयहरूले दिएका छन्, तर सरकारले त्यसलाई उपलब्धि ठान्दैन । सरकार हामीलाई नियमन मात्र गर्छ,” उनले दुखेसो पोखे ।

कार्यक्रममा मानव द्वन्द्व रूपान्तरण केन्द्र नेपालकी स्रोत व्यक्ति तथा कवि कविशिरोमणि माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष संगिता थापा, इन्द्रेणी महिला साहित्यिक मञ्चकी अध्यक्ष मिरा काफ्ले र सम्मानित व्यक्तित्व निरौलाले आदर्श विद्या मन्दिरले जीवनलाई सार्थक बनाउन संस्कारयुक्त शिक्षामा जोड दिएको भन्दै विद्यालय परिवारको प्रशंसा गरे । कार्यक्रममा एन–प्याब्सनका केन्द्रीय सचिव सञ्जीव राई, प्याब्सन मेचीनगर अध्यक्ष विक्रम क्षेत्री, सत्य साई केन्द्र धुलाबारीका अध्यक्ष सारदा नेपाल, विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष मिरा सिटौला लगायतको आतिथ्य रहेको थियो । कक्षा ८ की छात्रा दिप्सीका मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन आयुषा राई र दिव्यन्ता खत्रीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु