जिल्लास्तरीय अन्तरपालिका महिला फुटबल; बिर्तामोडको विजयी सुरुवात, गौरादह १–० ले पराजित

2026-11-25 मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगरस्थित काँकरभिट्टा खेलमैदानमा बुधबारदेखि सुरु भएको जिल्लास्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा बिर्तामोड नगरपालिकाले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा गौरादह नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड क्वाटरफाइनलमा प्रवेश गरेको हो । बिर्तामोडको जितका लागि आशिका कार्कीले निर्णायक गोल गरिन् । उनले खेलको पहिलो हाफको २८औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि पर्याप्त बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि गौरादहले पाएका अवसरलाई गोलमा परिणत गर्न सकेन । एक गोलले पछि परेको गौरादहले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरे पनि बिर्तामोडको रक्षापंक्ति तोड्न सकेन । निर्धारित समयमा थप गोल हुन नसकेपछि बिर्तामोडले १–० को जित निकाल्दै प्रतियोगिताको अघिल्लो चरणमा स्थान बनायो । निर्णायक गोल गरेकी बिर्तामोडकी आशिका कार्की खेलको प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई प्रमुख अतिथि तथा अन्य अतिथिले नगद पुरस्कारसहित ट्रफी प्रदान गरे ।

महिला सशक्तीकरण र बालविवाह अन्त्यको सन्देशलाई खेलकुदसँग जोड्दै महिला जनचेतना केन्द्र मेचीनगरले प्रतियोगिता आयोजना गरेको हो । ‘बालविवाह अन्त्य अभियानमा, महिलाको शक्ति खेलमैदानमा’ भन्ने नारासहित सुरु भएको प्रतियोगिताले महिला फुटबलको विकाससँगै सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ । प्रतियोगितामा झापाका नौवटा पालिकाका महिला फुटबल टोली सहभागी छन् । प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताअन्तर्गत बिहीबार कनकाई नगरपालिका र भद्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । महिला जनचेतना केन्द्रकी अध्यक्ष सुनिता गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ प्रमुख अतिथि थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु