अनुदानको मलमा अनियमितता, कृषि भण्डारलाई दुई लाख जरिवाना

2026-11-27 मा प्रकाशित

झापा । किसानलाई सहुलियत दरमा उपलब्ध गराउनुपर्ने सरकारी अनुदानको रासायनिक मलको बिक्री वितरणमा अनियमितता भेटिएपछि झापा प्रशासनले बुद्धशान्तिको एक कृषि भण्डारलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । बुद्धशान्ति गाउँपालिका–३, बुधबारे बजारस्थित संजीवनी कृषि भण्डारले अनुदानित मल बिक्री वितरणसम्बन्धी सर्त उल्लङ्घन गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय झापाले उपभोक्ता हित संरक्षण ऐनबमोजिम जरिवाना गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा गएको अनुगमन टोलीले कृषि भण्डारमा ४०० बोरा मल खरिद भएको विवरण फेला पारेको थियो । साल्ट ट्रेडिङ कर्पोरेसनबाट १७० बोरा युरिया र ६० बोरा डीएपी तथा कृषि सामग्री कम्पनीबाट १७० बोरा डीएपी मल खरिद गरिएको विवरण भेटिएको थियो । तर, अनुगमनका क्रममा गोदाममा २४१ बोरा मात्रै मल मौज्दात रहेको पाइयो । बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण कृषि भण्डारले प्रस्तुत गर्न सकेन । हिसाब नदेखाइएको मलमध्ये १०९ बोरा डीएपी र ५० बोरा युरिया रहेको प्रशासनले जनाएको छ । गोप्य सूचनाका आधारमा गरिएको अनुगमनमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि सहभागी थिए ।

प्रशासनले कृषि भण्डारलाई आवश्यक विवरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । सोही गाउँपालिका–३ को ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको अनुगमन गर्दा भने मलको खरिद, बिक्री तथा मौज्दात विवरण दुरुस्त पाइएको जनाइएको छ । किसानका लागि उपलब्ध गराइएको अनुदानित मलको दुरुपयोग रोक्न अनुगमनलाई तीव्र बनाइएको प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु