
मेचीनगर । वर्षौ देखि शुद्ध खानेपानीको अभावमा संघर्षत बाहुनडाँगी वासीहरु अवभने त्यो समस्याबाट मुक्त हुने भएका छन् । बाहुनडाँगी सिद्विखोला एकिकृत खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पानीको संकट समाधानको लागि मेचीनगर वडानम्बर १,२ र ४ नम्बर वडाका बिभिन्न ठाउँमा पानी ट्यांकी तथा डिप बोरिङ् सञ्चालनमा ल्याएपछि स्वच्छ र शुद्ध पिउने पानीको संकट समाधान हुने भएको हो ।
मेचीनगर १, २ र ४ का अधिकांश क्षेत्रमा शुद्ध पानी पुर्याउने उद्देश्यका साथ यहाँका विभिन्न क्षेत्रमा पछिल्लो समय खानेपानीका संरचनाहरु निर्माणाधिन अवस्थामा छन् । खानेपानी प्रशोधन गर्ने प्रशोधन केन्द्र, पानी जम्मा गर्नका लागि खानेपानी ट्यांकी, पानी आपूर्तीका लागि पाइपलाइन विस्तार जस्ता कार्यहरुले यतिबेला निरन्तरता पाइरहेका छन् ।
संस्थाले विभिन्न निकायमार्फत बजेट ल्याएर उत्तरी मेचीनगरका आधा दर्जन क्षेत्रमा पानी प्रशोधन केन्द्र, पाइपलाइन विस्तार, खानेपानी ट्यांकी निर्माण जस्ता कार्यलाई द्रुत गतिमा अघि बढाइरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट टेण्डर स्वीकृति भएर निर्माणको अन्तिम चरणमा पुगेका संरचना अहिले सञ्चालनको सम्मुखमा पुगेका छन् ।
उत्तरी मेचीनगरको खानेपानी आवश्यक्तालाई मध्यनजर गर्दै २०६९ असारमा सनतकुमार अधिकारीको नेतृत्वमा खानेपानी संस्थामा नयाँ नेतृत्व आएको थियो । संस्थामा त्यसयता विभिन्न चरणमा अधिवेशनहरु सम्पन्न भए । तर, उनको टीम फेरिएको छैन । आम उपभोक्ताको मागलाई ध्यानमा राखी दशकदेखि सक्रिय यस टीमले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माणाधिन तथा मर्मत सम्भार गरिएका संरचनाहरुबारे जानकारी समेत दिएको छ ।
उक्त क्रममा उत्तरी मेचीनगर अन्तर्गतका पाँच स्थानमा खानेपानीका संरचनाहरु निर्माणाधिन अवस्थामा रहेको पाइएको छ । जसले मेचीनगर १ को ९० प्रतिशत, मेचीनगर २ को ७५ प्रतिशत र मेचीनगरको ४ को ५० प्रतिशत क्षेत्रमा खानेपानीको आपूर्ती गर्नेछ । १२ सय घरपरिवारमा शुद्ध पानी पुर्याइरहेको यस संस्थाले निर्माणाधिन रहेका यी समग्र आयोजना सञ्चालन हुने बित्तिकै ३५ सय बढी घरपरिवारमा पानी पुर्याउने लक्ष्य राखेको छ ।
खानेपानीको संकटग्रस्त अवस्थामा गुज्रिरहेको यस क्षेत्रमा राज्यको नजर अपेक्षाकृत ढंगले पुग्न सकिरहेको थिएन । कुनै समय थियो, घण्टौ लाइन बसेर मात्रै पानी पाइने अवस्था थियो । पानी आपूर्तीका लागि बनेका संरचनाहरु जिर्ण थिए, विस्तार गरिएका पाइपलाइनको अवस्था अत्यन्तै नाजुक थियो । ठाउँठाउँमा पाइप फुटेर खाल्डो हुन्थ्यो भने कटौराले पानी भरेर पिउनुपर्ने सम्मको अवस्था थियो । यि विविध समस्या समाधान गर्नुपर्ने, खानेपानीको आपूर्ती सहज बनाउनुपर्ने लगायतका विविध चुनौती माझ यहाँ २०६९ मा वर्तमान अध्यक्ष अधिकारीको नेतृत्वमा समिति निर्माण भयो ।
त्यसयता यस संस्थाले आर्थिक बर्ष २०६९÷७० मा तत्कालिन जिल्ला विकास समिति र गाउँ विकास समितिमार्फत ३ लाख ६८ हजार ७ सय ६३ रुपैयाँ रकम ल्याउन सफल भयो । जसले झापा जिल्लाकै उत्तरी सीमा क्षेत्र मेचीनगर १ मा रहेको पुरानो पानी पोखरी मर्मत गरियो । यसरी आर्थिक बर्ष २०६९÷७० बाट बजेट ल्याउन सफल संस्थाको नेतृत्व आज पनि खानेपानी आपूर्तीकै लागि हरबखत लागी परिरहेको छ ।
जसको प्रत्यक्ष उदाहरण हुन् निर्माण भएर सञ्चालनको सम्मुखमा आइपुगेका ५ स्थानका खानेपानी संरचनाहरु । आर्थिक बर्ष २०८०÷८१ मा भने यस क्षेत्रमा यस्तो एउटा आयोजना पर्यो । जसले यस क्षेत्रको खानेपानी असहजताको समस्यालाई समाधानको मार्गतर्फ डोहोर्याएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत १८ करोड ४३ लाख ६३ हजार ९ सय ३६ रुपैयाँ बजेट यस क्षेत्रमा परेको छ । जसबाट ५ स्थानमा नयाँ संरचनाहरु निर्माण भइरहेका छन् । संस्थाका अध्यक्ष अधिकारीका अनुसार सबै संरचनाबाट सबैतिर पानी पुग्ने गरी ‘सर्कल सिस्टम’ मा संरचनाहरु निर्माणाधिन अवस्थामा छन् । जुन सञ्चालन भएपछि खानेपानीको समस्या समाधान हुने उनको विश्वास छ ।
हाल संस्थाको नाममा एक विगाह १२ कट्ठा १८ धुर जग्गा दर्ता छ भने मेचीनगर–१ मेचीडाँगीमा मुख्य कार्यालय छ । विभिन्न चरणमा अनुदानमा आएका र खरिद गरिएको गरी उक्त जग्गा संस्थाको नाममा कायम रहेको अध्यक्ष अधिकारीको भनाई छ । बाहुण्डाँगी बजार उत्तरबाट शुरु भएको संस्थाको संरचना निन्दा सिरान हुँदै भोर्लेनी, काँडे लगायतका क्षेत्रमा विस्ता भइसकेको छ ।
जहाँबाट लक्षित सबै स्थानमा पानी पुर्याउन सकिने संस्थाले विश्वास लिएको छ । संस्थाका उपाध्यक्ष मेघराज खड्का भन्छन्, ‘अनेकन चुनौतीबीच आएको नेतृत्वलाई असफल हुने छुट थिएन, चुनौती धेरै थिए जसलाई चिरेर खानेपानी आपूर्तीलाई सहज बनाउनुपर्ने थियो । जसमा सरोकारवाला व्यक्तिहरु, पदाधिकारीहरु, आम नागरिकहरु सबैको सँधै सहयोग रहिरह्यो । आज खानेपानीको लगभग अधिकांश समस्या समाधानको मार्गमा हामी छौं ।’
खानेपानीका संरचनाहरु अवलोकन पश्चात संस्थाको मुख्य कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अधिकारी, उपाध्यक्ष मेघराज खड्का, सह–सचिव महेन्द्रराज मल्ल, कोषाध्यक्ष पूर्णीमा कट्टेल, सदस्यहरु सुरेश घिमिरे, चन्द्र ढुंगाना, गोकुल प्रधान लगायतको उपस्थिति रहेको थियो भने मेचीनगर नगरपालिका वडा नं १ का निवर्तमान वडाध्यक्ष पासाङ तामाङ, सामाजिक व्यक्तित्वहरु हेमलाल गुरागाई, नगेन्द्र रिजाल, जगतबहादुर दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिकृया दिनुहोस्