नाइट चेस क्लबद्वारा काँकरभिट्टामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना

2026-05-21 मा प्रकाशित

मेचीनगर । झापाको काँकरभिट्टास्थित नाइट चेस क्लबले आगामी जेठ ११ गतेदेखि १५ गतेसम्म राष्ट्रिय ‘बी’ बुद्धिचाल प्रतियोगिता–२०२६ आयोजना गर्ने भएको छ । प्रतियोगिता दुई विधामा सञ्चालन गरिने जानकारी आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत दिएको हो । क्लबका अध्यक्ष तथा राष्ट्रिय बुद्धिचाल खेलाडी विश्वविजय घिमिरेका अनुसार प्रतियोगितामा खुल्लातर्फ पुरुष तथा महिला खेलाडीले सहभागिता जनाउनेछन् भने अर्को विधा ११औँ राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता रहनेछ । महिला विधामा महिला खेलाडीबीच मात्र प्रतिस्पर्धा हुनेछ ।

नेपाल बुद्धिचाल महासंघअन्तर्गत सञ्चालन हुने यो प्रतियोगिता देशकै ठूलो बुद्धिचाल प्रतियोगितामध्ये एक मानिएको आयोजकको भनाइ छ । प्रतियोगिताबाट खुल्लातर्फ ९ जना र महिला विधाबाट ९ जना गरी कुल १८ जना खेलाडी छनोट गरिनेछ । वरिष्ठ उपाध्यक्ष राजु पौडेलका अनुसार खुल्लातर्फ छनोट भएका ९ खेलाडी र एक पूर्व राष्ट्रिय च्याम्पियन गरी १० जना तथा महिला विधाबाट छनोट भएका ९ खेलाडी र एक पूर्व महिला च्याम्पियनबीच अन्तिम प्रतिस्पर्धा हुनेछ । सो प्रतिस्पर्धाबाट एक–एक जना राष्ट्रिय च्याम्पियन चयन गरिनेछ ।

बुद्धिचाल महासंघले उपत्यकाबाहिर यस्ता प्रतियोगिता कमै आयोजना गर्ने भएकाले काँकरभिट्टामा प्रतियोगिता हुनुलाई गौरवको विषयका रूपमा लिइएको अध्यक्ष घिमिरेले बताए । क्लबको निरन्तर प्रयास, खेलप्रेमीको साथ र स्थानीय सहयोगकै कारण प्रतियोगिता झापामा आयोजना गर्न सम्भव भएको उनको भनाइ छ ।

प्रतियोगिता मेचीनगर–६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सञ्चालन हुनेछ । प्रतियोगितामा देशभरबाट खुल्लातर्फ करिब १०० र महिलातर्फ ५० गरी कुल १५० खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । खेलाडी दर्ता शुल्क प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ तोकिएको छ भने मेचीनगर नगरपालिकाबाट १ लाख रुपैयाँ बजेट विनियोजन भएको आयोजकले जनाएको छ । बाँकी रकम स्थानीय खेलप्रेमी, उद्योगी तथा व्यवसायीको सहयोगबाट जुटाइने वरिष्ठ उपाध्यक्ष पौडेलले बताए । दर्ता शुल्कबाट मात्र करिब १ लाख ५० हजार रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ ।कोभिड महामारीलगायत विभिन्न कारणले सुस्ताएको बुद्धिचाल गतिविधिलाई पुनः चलायमान बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । यसैबीच, प्रतियोगिताबाट छनोट हुने ९/९ जना खेलाडीलाई क्लबले जनही ५ हजार रुपैयाँ प्रोत्साहनस्वरूप प्रदान गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु