प्रतिनिधि सभा पुनर्स्थापना गरेर सरकार बनाउँने प्रचण्डको दावी

2020-12-23 मा प्रकाशित

झापा, ८ पुस । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने बताएका छन् ।
बानेश्वरमा बुधबार दिउँसो बसेको उक्त समूहको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो । सर्वसम्मत रूपमा दलको नेता चुनिएपछि प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा ११७ जना सांसद उपस्थित थिए । सांसद वेदुराम भुसालका अनुसार राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९३ जना सांसद आजको बैठकमा सहभागी थिए । नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु