म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने सरकारको तयारी

2021-02-17 मा प्रकाशित

काठमाडौं,५ फागुन। सरकारले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय विस्तारका लागि पुनः अनुमति दिने तयारी गरेको छ । यसअघि पनि यस्तो अनुमति दिने गरिएकोमा जिल्लाहरुमा ठगी बढेको र नियमनमा समस्या भएको भन्दै शाखा खोल्न रोकिएको थियो ।

अहिले २७ वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । अरुले पनि यस्तो अनुमति मागिरहेका छन् । तर, वैदेशिक रोजगार विभागले जारी गरेको छैन ।अवैध एजेन्ट अर्थात् दलालको अवाञ्छित सक्रियताका कारण वैदेशिक रोजगारीलाई ‘ठगीको धन्दा’ बनेको भन्दै विभागले म्यानपावरहरुलाई शाखा विस्तारका लागि अनुमति दिन छलफल अघि बढाएको बताएको छ ।

वैदेशिक रोजगार ऐनमा पनि म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय खोल्न दिन सकिने उल्लेख छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल म्यानपावरलाई शाखा कार्यालय खोल्न दिनेबारे व्यवसायी र सरोकारवालासँग छलफल अघि बढाएको बताउँछन् ।

अवैध एजेन्टका कारण वैदेशिक रोजगारीका जाने कामदार ठगिने क्रम झनै बढेकाले म्यानपावरको शाखा विस्तारलाई खुला गर्नु पर्ने उनको दावी छ ।‘म्यानपावरहरुलाई शाखा खोल्न नदिँदा जिल्लामा झनै दलालहरु सक्रिय भए, ठग्ने मनासयबाटै प्रेरित भएर श्रमिकसँग पैसा उठाउने र विभिन्न बाहनामा दुःख दिने गरेकाले भएकाले त्यसलाई रोक्न यस्तो व्यवस्था प्रभावकारी हुनसक्छ,’ दाहालले भने ।म्यानपावर कम्पनीलाई कतिवटासम्म शाखा खोल्न दिने भनेर छलफल भइरहेको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु