मेचीनगर बुधबार राति १२ बजेबाट एक हप्ता सिल

2021-07-27 मा प्रकाशित

मेचीनगर । पछिल्लो केहि दिन देखि कोरोना संक्रमण तीब्र बन्दै गएपछि झापा जिल्लाका विभिन्न पालिका सिल हुने क्रम बढेको छ । कोरोना संक्रमण बढेपछि बुधबार राति १२ बजेबाट मेचीनगर नगरपालिका एक हप्ता सिल गरिने भएको छ ।

मंगलबार बसेको नगर कार्यपालिका बैठकबाट श्रावण १३ गते राति १२ बजेबाट साउन १९ गते मध्यराति १२ बजेसम्म मेचीनगर नगरपालिका क्षेत्र सिल गर्ने निर्णय भएको हो ।

कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै नगरपालिकामा सोमबार बसेको कोभिढ १९ संक्रमण नियन्त्रण समितिको बैठकले कम्तिमा एक हप्ताका नगर सिल गर्ने प्रस्ताव गरेको थियो ।

कार्यपालिकाको बैठकले समितिको सोही प्रस्तावको कार्यान्वयन गर्दै नगरपालिका अत्यावश्यक केही सेवाहरु वाहेक सम्पूर्ण क्षेत्र बन्दाबन्दी गर्ने निर्णय गरेको मेचीनगर कार्यवाहक प्रमुख मीना उप्रेतीले जानकारी दिइन् ।

सिल अवधिमा अस्पताल, स्वास्थ्य चौकी, एम्बुलेन्स, वारुणयन्त्र, औषधी पसल, खोप सेवा, फोहोरमैला व्यवस्थापन, विद्युत तथा सञ्चार सम्बन्धि सेवा मात्र सञ्चालनमा आउने छन् ।

त्यस्तै दुध, अण्डा, फलफुल, तरकारी पसल विहान ६ बजेदेखि ८ बजेसम्म खुल्ला गर्न दिने निर्णय भएको छ ।

नगरभित्र सञ्चालनमा आउने कक्षा ११ को परीक्षा स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने छ ।

अन्य पसल, व्यवसाय, होटल, बैंक तथा बित्तीय संस्थाहरु समेत पूर्णरुपमा बन्द रहने छन् ।

कार्यपालिकाको बैठकले कोभिड – १९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पिसीआर तथा एन्टिजिन परीक्षणको दायरा बढाइने कार्यपालिको बैठक पछि आयोजित पत्रकार भेटघाटको अवसरमा जानकारी गराइएको छ ।

साथै नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रदान अत्यावश्यक वाहेकका अन्य सेवाहरु समेत बन्द रहनेछन् ।

झापामा हालसम्म ७ पालिकाले सिल गर्ने निर्णय गरि सकेका छन् । झापाका बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई, दमक र शिवसताक्षी यसअघिनै सिल गरिएका छन् ।

त्यस्तै संक्रमण नियन्त्रणका लागि भन्दै गौरादह नगरपालिकाले मंगलबारबाट, बिर्तामोड नगरपालिकाले समेत साउन १३ गते बुधबार राति १२ बजेबाट नगरपालिका सिल गर्ने निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु