‘इलेक्ट्रोनिक फेन्सिङ’ का लागि सर्भे गर्ने काम सकियो

2021-09-16 मा प्रकाशित

मेचीनगर, ३१ भदौ । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका विर्तामोडको हरियाली सामुदायिक वनदेखि मेचीनगरको चारआली वन खण्डहुदैँ मागुरमाडी वन मुल खण्ड ५७ दशमलव ७ किलोमिटरमा सर्भेको काम सम्पन्न भएको छ ।

‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्नका लागि २० दिनअघिदेखि प्राविधिकको टोलीले सो क्षेत्रमा सर्भे गर्ने कमा शुरु गरेको थियो । विद्युतीय तारवार गर्न क्षेत्र निर्धारणका लागि ‘स्ट्रिङ इञ्जिनियरिङ्ग प्रालि’ले सर्भेको जिम्मा पाएको र समयमै सर्भेको काम सम्पन्न भएको सर्भेयर सञ्जय मिश्रले जानकारी दिनुभयो । काम सम्पन्न पछि टोली काठमाण्डौं फर्केको उहाँको भनाई छ ।

उहाँका अनुसार विर्तामोड नगरपालिकाको हरियाली सामुदायिक वन हुँदै मेचीनगरको प्रगति सामुदायिक वन मेचीनगर—१२, हातेमालो सामुदयिक वन मेचीनगर— १४, थोप्लेविराम सामुदायिक वन मेचीनगर— ९, माथिल्लो मागुरमाडी मेचीनगर— ९ को वीट नम्बर १ र २,वासबारी सामुदायिक वन मेचीनगर— ११, कालिका सामुदायिक वन मेचीनगर— १२, आदर्श सामुदायिक वन बुद्घशान्ति —३, नवज्योति सामुदायिक वन वन बुद्घशान्ति, पाचपोखरी सामुदायिक वन बुद्घशान्ति —५, बहुवन सामुदायिक वन मेचीनगर— ३, तेलपानी सामुदायिक वन मेचीनगर—३ को क्षेत्रमा सर्भेको काम सम्पन्न भएको मिश्रको भनाई छ ।

सर्भे टोलीले त्यसक्षेत्रमा पर्नेमा वस्ती तथा पर्यटकयि स्थल र सामुदायिक वनका कार्यालयहरुलाई बाहिर पारेर तथा हात्तीका लागि वैकल्पिक बाटो राखेर चुरेक्षेत्रलाई समेत ध्यानमा राखेर सर्भे गरेको थियो । मेचीनगर नगरपालिका र यस क्षेत्रका सांसदहरुको लामो प्रयास पछि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य हुन लागेको हो । केहीदिनअघिमात्र मेचीनगर नगरपालिकाको सभाकक्षमा मानव हात्ती द्वन्द व्यवस्थापन लागि यसक्षेत्रका १ नम्बर प्रदेश सभा सदस्य, बुद्घशान्ति गाउँपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोष नगरका जनप्रतिनिधिहरु, डिभिजन वन कार्यालय झापा, कोषका प्रतिनिधि,नगरभित्र रहेका विभिन्न सामुदायिक वन, नेपाली सेना तथा सरोकारवाला निकायबीच छलफल भएको थियो । सोहि अनुसार प्राविधिकको टोलीलेले सर्भेको काम थालनी गरेको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताउनुभयो ।

मेचीनगर नगरपालिकाको पहलमा राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारका लागि क्षेत्र निर्धारण गर्न ‘स्ट्रिङ इञ्जिनियरिङ्ग प्रालि’ले तयार गर्ने विस्तृत परियोजना प्रतिवेदन डीपीआरका विषयमा सम्बन्धित सरोकारवालाहरुसँग भएको अन्तरक्रिया र सुझावलाई समेत समेटेर विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने र यसका लागि आवश्यक सहयोग स्थानीय सरोकारवालाबाट पुर्याउने निर्णय भएको थियो । अब योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार हुने र लगत्तै यसैवर्षभित्र ठेक्का प्रक्रियाबाट काम शुरु गरिने योजना मेचीनगरको छ ।

‘स्ट्रिङ इञ्जिनियरिङ्ग प्रालि’ले आफ्नो सर्भेको काम पुरा गरी सकेको छ सर्भेयर सञ्जय मिश्रले भन्नुभयो—‘ अब सर्भेका क्रममा बनाइएका सवै तथ्याङ्क, कहाँ कहाँ कस्तो कस्तो हिसावले खर्च हुन्छ, त्यसको इष्टमेट गरेर प्रालिले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई बुझाउने छ । त्यसको अध्ययन गरेर कोषले वन विभागले बुझाउने र प्रक्रियारुपमा टेण्डर आव्हान हुन्छ ।’

चारआली वन खण्डदेखि मागुरमाडी वन मुल खण्डसम्मको ६ दशमलव ३४ किलो मिटर र मागुरमाडी वन मुल खण्डको ५१ दशमलव ३६ किलोमिटरमा हुने तारवार निर्माणक लागि क्रमागत वजेट अनुसार वन मन्त्रालयको हाल ३ करोड रुपैयाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने योजना रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु