मन्त्रिपरिषद् विस्तारको ढोका खुल्ने संकेत, सरकारले गर्याे राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजको सिफारिस

2021-09-27 मा प्रकाशित

काठमाडौं,११ असोज । लामो समय सम्म सरकारले पूर्णता पाउन नसकेपछि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै मन्त्रिपरिषद् विस्तारको ढोका खुल्ने भएको छ ।

देउवा सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर राजनीतिक दलसम्बन्धी अध्यादेश १ भदौमा सिफारिस गरेको थियो । २ भदौमा राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको थियो ।

तर यही अध्यादेशका कारण सरकार गठन भएको तीन महिनासम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । एकीकृत समाजवादीले अध्यादेश फिर्ता लिन मानेको थिएन भने जसपाले अध्यादेश रहँदासम्म मन्त्रीको नाम पठाउन नसक्ने बताएको थियो ।

त्यही अलमलका बीच सरकारले २३ भदौको संसद बैठकमा यो अध्यादेश टेबल गर्‍यो । तर सरकारले न अध्यादेश पास गर्‍यो, न प्रतिस्थापन विधेयक ल्यायो । सत्तारुढ गठबन्धनमा पटकपटक छलफल गर्दा पनि अध्यादेश फिर्ता गर्ने सहमति जुटेन भने प्रतिस्थापन विधेयक ल्याएर पास गर्न लामो समय लाग्ने भयो ।

पछिल्लो पटक सर्वोच्च अदालतले अध्यादेश र त्यसका आधारमा भएका कामकारबाही रद्द गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश नदिएपछि अध्यादेश फिर्ताका लागि एकीकृत समाजवादी नेताहरु सहमत भएका छन् । त्यसअनुसार मन्त्रिपरिषद्ले सोमबार अध्यादेश खारेजीका लागि सिफारिस गरेको छ ।

अब मन्त्रालय भागवण्डा टुंग्याएर पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सत्तारुढ दलहरुको तयारी छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु