चिया व्यावसायबाट आत्मनिर्भर बन्दै, सुरेन्द्र नगरका चिया किसान

2021-10-21 मा प्रकाशित

डम्बर बराल
सुरेन्द्रनगर । मेचीनगर–५ सुरेन्द्रनगर स्थित जागरण टोलका जयकुमार अधिकारीको ६ महिना यता दिन चर्या फेरिएको छ ।
उनी बिहान सबेरै उठ्छन् अनि एउटा झोलि लिएर आफ्नो चिया बगानतर्फ लाग्छन् । उनको जोस र जाँगर अझै २०÷२२ वर्षको युवाको जस्तो देखिन्छ । यसको एउटै कारण हो–आफ्नो हरियो चिया व्यावसायबाट मिलेको सफलता ।
आफ्नो करेसाबारीमै एनएमसीले चिया प्रशोधन कारखाना सञ्चालन गरेर हरियो चिया पत्तीको उच्च मूल्य दिन थालेपछि उनी व्यावसायबाट सन्तुष्ट छन् । उमेरले ६० नाघि सकेका जयकुमारले २०५८ सालमा धान खेती मासेर १६ कठ्ठा जमीनमा चिया खेती गरेका छन् । उनको यो काममा श्रीमती अञ्जुको ठूलो सहयोग र हौसला छ । दुवैजना दैनिक रुपमै चियाका मुना टिप्ने र बगान स्याहार्ने काममा ब्यस्त हुन्छन् । चियाको उचित मूल्य नपाएर चियाको बुटा उखेल्ने मनसायमा पुगेको सो परिवार यस वर्षबाट भने चिया खेतीबाट आत्मनिर्भर बन्न सकिने निश्कर्षमा पुगेको छ ।
सोहि वडाका रामप्रसाद ढुंगाना उमेरले ६२ नाघि सकेका छन् । उनी जाँगरीला चिया किसान हुन् । उनी यस अघि पनि आफ्नो बगानमा आफै चियाको मुना टिप्ने गर्थे, चियाको मुना टिप्नु उनको लागि यस अघि बाध्यता थियो । किनकी हरियोपत्ति बेचेर आएको पैसाले खेतालालाई दिन पनि धा–ैधौ पर्थ्र्याे, हरियो पत्ति बेचेको पैसा लगभग खेतालाको लागिनै ठिक्क हुन्थ्यो । त्यसैले आँफै चिया टिप्नु उनको लागि बाध्यतानै थियो । तर यस वर्ष भने उनको चिया टिप्ने उत्साह थप बढेको छ । हरियो चिया पत्तिको मूल्य इतिहासमै पहिलो पल्ट उच्च पाएपछि उनीमा यस वर्ष खुशीको सीमा छैन । २०५८ सालमा धान खेतीमासेर आफ्नो १ विगाह जमीनमा चिया लगाएका अधिकारी भन्छन्, उद्योगपतिले कहिल्यै राम्रो मूल्य दिएनन् कुनै समय प्रतिकेजी ४ रुपैयाँ सम्ममा बेच्नुपर्थ्यो, हामी त चियाको विकल्प खोज्ने अवस्थामा पुगेका थियौँ । एनएमसीले चिया उद्योग सञ्चालन गरेर चिया किसान सदस्यहरुको जीवनस्तर उकास्ने काम गरेको छ, आज म सन्तुष्ट छु । रामप्रसाद आफनो बारीमा टिपेको चिया आफैँ फेक्ट्रि सम्म पुर्याउँछन् । उसो त यस क्षेत्रका चिया किसानहरुको फेक्ट्रि सँगको सम्बन्ध नङ र मासुको जस्तै छ । सो फेक्ट्रि निर्माणमा जयकुमार र रामप्रसाद लगायत सो क्षेत्रका १६३ जना सदस्य किसानहरुको पसिना जोडिएको छ । उनीहरु यस अघि सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाका सदस्य थिए ।
उद्योपतिबाट चियाको मूल्यमा वर्षेनी ठगिनु परेपछि ४ वर्ष अघि सुरेन्द्रनगर सहकारीले चिया प्रशोधन कारखाना निर्माण सुरु गरेको थियो । सोही सहकारी हाल एनएमसीसँग मर्ज भएपछि एनएमसीले निर्माणको काम सकेर अघिल्लो आर्थिक वर्षबाट चिया प्रशोधनको कामलाई तीव्रता दिइरहेको छ । सहकारीले हाल ग्रिन टी र अर्थाेडक्सका ४ क्वालिटीमा उत्पादन गरिरहेको उद्योगका संयोजक दिलिप सुब्बाले बताए ।
चिया उद्योग स्थापना गर्नु आफुहरुको बाध्यता थियो । एनएमसी सँग मर्ज हुनु पूर्वको अवस्थालाई सम्झदै उनले भने, ‘उद्योगपतिबाट मूल्यमा सधै ठगिनुपर्ने परिस्थिति भएपछि हैसियत नपुग्दानपुग्दै पनि हामीले फेक्ट्रि निर्माणको सोच बनायौँ र निर्माणमा जुट्याँै, तर हामी सानो समुहमा रहेका किसान सदस्यहरुको बलबँुताले भ्याएन अनि एनएमसी जस्तो अभिभावक संस्थासँग समायोजन भयाँ, आज उद्योग सञ्चालनमा आइसकेको छ । यो यस क्षेत्रका आम किसानको सपना थियो, जसलाई एनएससीले पुरागरिदिएको छ ।’ उद्योग सञ्चालनमा आएपछि यस क्षेत्रका किसानलाई ठूलो फाईदा पुगेको संयोजक सुब्बाको भनाइ छ । सहकारीले किसानको जीवनस्तर उकास्ने गरी चियाको उच्च मूल्य दिएको छ उनले भने, ‘प्रतिकेजी ४७ रुपैयाँ हरियो चियाको मूल्य इतिहासमै उच्च हो ।’
उद्योगले हाल दैनिक एक हजार केजी हरियो पत्ति प्रशोधन गरिरहेको चिया उद्योगका व्यवसाय प्रमुख रविन्द्र पाण्डेले बताए । हामी बजारको अवस्थालाई हेरेर क्रमश ः उत्पादनलाई बढाउने सोचमा छाँै, उनले भने ‘ बजारको सम्भाव्यता अध्ययन गरिरहेका छौ । यो सँगै केहि साता यता बिभिन्न ठाउँबाट तयारी चियाको माग समेत आउँन थालेको छ ।’ एनएमसी कोपसपहरुबाट समेत चिया बिक्री भइरहेको उनको भनाइ छ ।
सहकारीले गुणस्तरीय चिया उत्पादनको लागि किसानको चिया बगान सुधार अभियान समेत सञ्चालन गरेको छ । कुन किसिमको पत्ति टिप्नु उचित हुन्छ टिप्नु पूर्व प्राबिधिकसहितको टोलीले बगान अनुगमन समेत गर्ने गरेको उद्योगका कर्मचारी शालिग्राम ढुंगानाले बताए ।
सहकारीले पछिल्लो समय सदस्यहरुको जीवन स्तर उकास्ने खालका विभिन्न कार्यक्रमलाई प्राथमिकता दिँदै आएको सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । सहकारीले बित्तिय कारोबार सहित डेरी उद्योग, एकिकृत नमूना कृषि फर्म, कोपसप तथा पाँचौ व्यवसायको रुपमा चिया व्यवसाय सुरुगरेको अध्यक्ष उप्रेतीको भनाइ छ । २०५० सालमा २६ जना शेयर सदस्यहरूको कुल २ लाख ५३ हजार शेयर पूँजीबाट सुरु भएको सहकारीमा हाल १ लाख ८ हजारबढी शेयर सदस्य रहेका छन् । सहकारीले झापा इलाम मोरङ लगायतका जिल्लामा व्यवसाय विस्तार गरिसकेको अध्यक्ष उप्रेतीले बताए । सहकारीले हाल ९ वटा सहकारी पसल सञ्चालनमा ल्याएको छ भने तत्काल अरु तीन वटा पसल थप गर्ने तयारी गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु