रोटरीको आयोजनामा भोलि मेचीनगरमा म्याराथुन दौड प्रतियोगिता हुने

2021-11-19 मा प्रकाशित

धुलाबारी, ३ मंसिर । रोटरी क्लब अफ मेचीनगरले अन्तर्राष्ट्रिय बाल दिवस र नेपाल सम्बत् ११४२ को अवसर पारेर शनिबार खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ ।
रोटरी नेपाल र भुटान ३२९२ अन्तर्गतको रोटरी क्लब अफ मेचीनगरले शुक्रबार धुलाबारी स्थित होटल रोयल निर्माणमा पत्रकार सम्मेलन गरी म्याराथुन दौड प्रतियोगिताको तयारी बारे जानकारी दिएको छ ।

शनिवार चारआली स्थित सहिद दशरथचन्द माध्यमिक विद्यालयको परिसरबाट काँकरभिट्टा स्थित एशियन हाइवे सम्म १३ किलोमिटरको दूरीमा म्याराथुन दौड हुने क्लबका अध्यक्ष किशोर क्षेत्री ९कपिल०ले बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुने व्यक्ति तथा संस्थाहरुले मेची उद्योग बाणिज्य संघ, प्रतिक फार्मेसी चारआली, हाम्रो ब्रान्ड हार्डवेयर ईटाभट्टा, आर्शिवाद ट्राभल्स काँकरभिट्टा, सतासी बहुउद्देश्यीय सहकारी संस्था र कृषि थोकमा नाम दर्ताका लागि फाराम प्राप्त गर्न सकिनेछ । अहिलेसम्म प्रदेश नम्बर १ का एकसय भन्दा बढीले फाराम भरिसकेको आयोजकले जनाएको छ ।

महिला तथा पुरुषको छुट्टाछुट्टै हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार र चौथोदेखि दशौंसम्म हुनेलाई सान्त्वना स्वरुप एक हजार रुपैयाँका दरले पुरस्कार पाउने कार्यक्रम संयोजक दिनेश शाक्यले बताए ।

सहभागी हुने सबै प्रतियोगीलाई टिसर्ट निःशुल्क उपलब्ध गराइने उनले बताए । पुरस्कार लगायत विभिन्न सामाग्रीमा एक लाख रुपैयाँ खर्च लाग्ने आयोजकको भनाइ छ ।

धुलावारीको पाँचतारे होटल मेची क्राउनमा रोटरी क्लबले आगामी २०२२ फेब्रुअरी १८ देखि २० गतेसम्म आयोजना गर्न लागेको १४ औं डिस्ट्रिक कन्फरेन्सलाई प्रवद्र्धन गर्न समेत म्याराथुन दौड प्रतियोगिताले सहयोग पुग्ने आयोजकले जनाएको छ । डिस्ट्रिक कन्फरेन्समा विभिन्न मुलुकबाट १५ सय जना सहभागी हुने जनाईएको छ ।

पत्रकार सम्मेलनमा क्लब अध्यक्ष क्षेत्री , कार्यक्रम संयोजक शाक्य, क्लबका ‘प्रेसिडेन्ट इलेक्ट’ अनन्तप्रकाश वस्ती, सदस्यहरु ऋषिराज तिम्सिना, थिन्कु नेम्बाङ, आष्मा चापागाई, रोट्रयाक क्लब अफ मेचीनगरका ‘प्रेसिडेन्ट’ इभान लुईटेल लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु