ओलीको गृहजिल्ला पुगेर नेपालले भने ‘हावादारी गफ अब चल्दैन’

2021-12-06 मा प्रकाशित

दमक, २० मंसिर । एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले लामो समय देखि झुटको खेती गर्दै आएको आरोप लगाएका छन् । आज दमकमा नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले सम्बोधनका क्रममा ओलीलाई गफाडीको संज्ञा दिए। ‘गफ धेरै गर्ने र टावर मात्रै ठड्याउने कुराको काम छैन’, उनले भने, ‘नेपालमा पानी जहाज नै आवश्यक छैन। आवश्यक नै नभएको कुरामा गफ गर्ने गफाडीको पनि काम छैन।’

उनले आफ्नै पार्टीको मात्रै भविष्य रहेको पनि बताए। ‘भविष्य छ भने यही पार्टीको छ। बाँकी पार्टीको पत्ता साफ हुने वाला छ’, उनले थपे, ‘एकीकृत समाजवादीको मात्रै भविष्य छ। राष्ट्रिय सभाको चुनावमा पाँचवटा पार्टी मिलेर लड्छौँ। शक्ति बढाउन गठबन्धन र तालमेल गर्रर्छाे उनले भने, ’आउँदो चुनावमा नेकपा एमाले पत्तासाफ हुन्छ ।
‘नेपालमा नाम कमाएपछि अहंकार बन्ने परम्परा छ,’ नेकपा समाजबादीका अध्यक्ष नेपालले भने–‘खेलाडीमा त्यस्तो नहोस् । त्यसलाई चिर्न आवश्यक छ । खेल एउटा महत्वपूर्ण पक्ष हो, यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउँछ ।’

वडादेखि केन्द्रसम्म पार्टी र संगठन निर्माणमा जुटेको बताउँदै अध्यक्ष नेपालले आगामी दिनमा जनताको घरघरमा पुगेर कलम चिन्हमा भोट माग्दै स्टीकर अभियान चलाउने बताए । संगठन निर्माणका लागि स्वैच्छिक चन्दा अर्थात स्टीकर अभियान चलाउने पार्टीको योजना रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेपालमा ठुलाठुला क्रान्ति भयो, परिवर्तन भए तर जनताले भने अझै दुःख मात्र पाइरहेको बताए । गरीवका लागि क्रान्ति नआएको उनले ठोकुवा गरे । उनले जनताले दुःख मात्र पाए, कहिलै सुख पाएनन्, त्यसकारण के का लागि क्रान्ति भन्दै प्रश्न गरे ।

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष घनेन्द्र वस्नेत, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रिय अध्यक्ष केशवकुमार विष्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कराते र बक्सीनका खेलाडीहरु डेमो प्रदर्शन गरेका थिए ।

नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेशका अध्यक्ष शंकर थापाको सभापतित्वमा भएको कार्यक्रमको स्वागत महासंघका प्रदेश इन्चार्ज हंशराज वाग्ले र सञ्चालन पार्टीका दमक नगर अध्यक्ष महेश घिमिरेले गरेका थिए ।

 

पासबुक अध्यावधिक गर्ने बारे महेन्द्रद्वार सहकारीको सूचना

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु