नबिनको जीवन बचाउन सहयोगको अपिल

2022-01-15 मा प्रकाशित

मेचीनगर, १ माघ । मेरुदण्डको क्यान्सरबाट पीडित मेचीनगरका एकजना युवाको उपचारका लागि गाउँलेहरु आर्थिक सहयोग जुटाउन लागि परेका छन् ।

मेचीनगर–८ बिरेन्द्रस्मृति नगरका क्यान्सर पीडित १७ बर्षीय नबिन फुयललाई गाउँलेहरु आर्थिक सहयोग जुटाउन लागि परेका हुन् ।

स्थानीय समाजसेवी उदयकुमार भण्डारीको संयोजकत्वमा ७ सदस्यीय नबिन फुयल बचाउ अभियान सुरु गरिएको छ । समितिको सचिवमा रिजेस प्रधान, कोषाध्यक्षमा सुमित्रा फुयाल तथा सदस्यहरुमा बेनीसागर अधिकारी, कुमार तामाङ, शरुण मेचे र भुवन कटुवाल छन् ।आज समितिले पत्रकार सम्मेलन गरेर क्यान्सर पीडित फुयालको अहिले सम्म भईरहेको उपचार र परिवारको आर्थिक अवस्था बारे जानकारी गराएको थियो ।

केहि महिनादेखि ढाड दुखेपछि स्थानीय अस्पतालहरुमा उपचार गराउँदा बिरामी पत्ता नलागेपछि काठमाडौको बीएण्डबी र सिभिल अस्पतालमा उपचार गराउँदा मासुपलाएर ट्युमर भएकोले भारतको दिल्ली लान चिकित्सकले सुझाव दिएको परिवारको भनाइ छ ।

गत पुस २४ गते दिल्ली स्थित राजिव गान्धी अस्पतालले नविनलाई क्यान्सर भएको पुष्टि भएको अभियानका संयोजक भण्डारीले बताए ।
अस्पतालले बिरामी ठिक हुन ८ महिना लाग्ने र करिव ३० लाख नेपाली रुपैयाँ खर्च हुने बताएको नविनकी आमा सुमित्रा फुयालले पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

सिटि रिक्सा चलाएर परिवार चलाइरहेका नविनका बुवा कृष्ण फुयालले छोरा बिरामी भएपछि त्यही सिटि रिक्सा पनि बेचेका छन् । उनी छोराको उपचारका लागि हाल दिल्लीमा छन् ।

परिवारको नाममा सेनो टिनको घरसहित १० धुर जग्गा मात्र छ । छोराको उपचारमा ५ लाख जति खर्च भईसकेको छ । स्थानीय आदर्श माविमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थी नविन पढाई, साहित्य र अन्य गतिविधिमा समेत क्षमतावान भएको संयोजक भण्डारीले बताए । उनले एउटा प्रतिभाशाली युवकको जीवन बचाउन सबैले सकेसम्मको आर्थिक सहयोग गरिदिन आग्रह गरे ।

समितिले ईटाभट्टा स्थित प्राइम बैंकमा उपचार कोषको खाता समेत खोलिसकेको छ । अभियानका संयोजक भण्डारी, सचिब रिजेस प्रधान र नविनकी आमा सुमित्रा फुयालको संयुक्त हस्ताक्षरमा सञ्चालन हुने गरी प्राईम बैंक इटाभट्टामा खाता नंं १०७००३४९ एसए सञ्चालन गरिएको छ ।

ईच्छुक मनकारी व्यक्तित्वहरुले सो खातामा रकम जम्मा गरिदिएर नविनको जीवन रक्षाका लागि सहयोग गरिदिन हुन बचाउ समिति र परिवारले सबैमा आग्रह गरेको छ । अभियानले अहिलेसम्म १५ हजार रुपैयाँ संकलन गरेको संयोजक भण्डारीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु