झापामा यसै साता बुस्टर डोज लगाउने तयारी

2022-01-19 मा प्रकाशित

भद्रपुर, ५ माघ । झापा जिल्लामा यसै साताभित्र बुस्टर डोज लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेका अग्रपङ्तिमा कार्यरत करिब २५ हजार व्यक्तिलाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ ।

स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चुडामिण लुइँटेलका अनुसार दुवै डोज कोभिशिल्ड लगाएका आठ हजार ८४० र भेरोशिल्ड लगाएका करिब १५ हजार जनालाई बुस्टर डोज दिने तयारी छ ।

उनले पूर्ण खोपको रूपमा जसले पहिलो जे लगाएको छ, उसलाई बुस्टर डोजका रूपमा पनि त्यही खोप दिइने बताए । जिल्लामा १० लाख जनालाई खोप लगाउने लक्ष्यअनुसार चार लाख ७२ हजार ७२९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउने तीन लाख ८८ हजार ७८१ रहेका छन् ।

हाल जिल्लाका १५ वटै पालिकामा १८ वर्ष माथिकालाई खोप लगाउने काम धमाधम भइरहेको छ । जिल्लामा बुस्टर डोज दिन थप ६० हजार डोज खोप स्वास्थ्य मन्त्रालयसँग माग गरिएको लुइँटेलले बताए । खोपको दुवै मात्रा लगाएको ६ महिना पुगेकालाई मात्र बुस्टर डोज दिइनेछ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु