आर्या अस्पतालबाट दमकका अमूल्यले पाए नयाँ जीवन

2022-02-01 मा प्रकाशित

विराटनगर, १७ माघ । दमक नगरपालिका घर भएका १२ वर्षीय बालक अमूल्य सिवाकोटीले विराटनगर स्थित एक अस्पतालबाट नयाँ जीवन पाएका छन् ।

विराटनगर–३ कञ्चनबारीमा रहेको आर्या न्युरो अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गरेपछि अमूल्यले नयाँ जीवन पाएका हुन् ।

दिमागमा पानी जमेको र ट्युमर भएका कारण उनलाई गत २८ पुस गते आर्या अस्पताल भर्ना गरिएको उनकी आमा यमुना न्यौपाने सिवाकोटीले बताइन् । सोही दिन उनको शल्यक्रिया गरिएको थियो ।

वरिष्ठ न्युरो सर्जन डा। पंकजराज नेपालको टिमले उनको १० घण्टा लगाएर शल्यक्रिया गरेका थिए । शल्यक्रिया गरेको दुई साता अस्पताल बसेका अमूल्य सोमबार डिस्चार्ज भएका छन् ।

न्युरो सर्जन डा। नेपालले पाइलोसाइटिक एस्ट्रोसाइटोमाका कारण थलिएका बालक जटिल शल्यक्रिया र उपचारपछि निको भएर घर फर्किएको बताए ।

‘छोराले नयाँ जीवन पायो,’ भावुक हुँदै अमूल्यकी आमा यमुनाले भनिन्, ‘अहिले हिँड्न सक्ने भएर घर फर्किँदैछौँ ।’
उपचारबाट स्वास्थ्यमा सुधार भएपछि बालकलाई डिस्चार्ज गरिएको डा। नेपालले बताए ।

“अस्पताल ल्याउँदा बच्चाको होस हराएको, उभिनै नसक्ने अवस्थामा पुगिसेको थियो,’ उनले भने, ’पानीको बाटो थुनिएर दिमागको चाप बढ्दै गएको र अवस्था छिटो बिग्रिँदै गरेको भएर तत्काल शल्यक्रिया गरेको हो ।’

ट्युमरमा दिमागका मुख्य नसाहरू टाँसिएको हुनाले जोगाउन शल्यक्रिया गर्न लामो समय लागेको उनको भनाइ छ ।डा। नेपालका अनुसार शल्यक्रिया गर्ने बेलामा बालकको दिमागको सबै भागलाई जोगाइएको छ । शल्यक्रिया गरेको दुई सातामै बच्चा मजाले हिँड्ने भएको, शरीरको ब्यालेन्स राम्रो भएको र स्वास्थ्यमा एकदम राम्रो सुधार देखिएको छ ।वरिष्ठ न्युरो सर्जन डाक्टर पंकजराज नेपाल, जसले अमूल्यको शल्यक्रिया गरेका थिए ।

दुई हप्तामा भएको सुधार देख्दा भविष्यमा अमूल्यलाई पुनः समस्या देखिने सम्भावना निकै कम भएको उनी बताउँछन् । यसै पनि एकपटक उपचारपछि पुन ब्रेन ट्युमर हुने सम्भावना निकै कम रहेको उनले जनाए ।

धेरैपटक यस्ता शल्यक्रिया गरिसकेका डा। नेपालले आर्या अस्पतालमा भने पहिलोपटक गम्भीर ब्रेन ट्युमेरको सफल शल्यक्रिया गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु