काँकरभिट्टामा पातालगंगा कालीखोला धार्मिक तथा पर्यटकीय स्थल निर्माण हुने

2022-02-15 मा प्रकाशित

मेचीनगर ।पछिल्लो समय काँकरभिट्टालाई सजाउने अभियानले तीब्रता पाउन थालेको छ । देकोटा पार्क, पुष्पलाल बाटीका पछि आव बृहत पर्यटकीय क्षेत्रको रुपमा कालिखोलाले प्राथमिकता पाएको छ । कालिखोलामा डुंगा शयर सुविधासहितको पर्यटकीय क्षेत्र बनाउन जनस्तरबाट पहल सुरु गरिएको छ ।
मेचीनगर वडा नं ६ को काँकरभिट्टा बजार पश्चिम र राजमार्गको पुल उत्तरको खोलामय जग्गामा पर्यटकीय स्थल विकास गर्ने दीर्घकालीन योजनाका साथ स्थानीयबासीले पातालगंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्र स्थापना गरेका छन् । जनता समाजबादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको नेतृत्वमा केन्द्रको तदर्थ समिति गठन भएको सोमवार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
समितिमा सवै दल र सामाजिक अगुवाहरुको प्रतिनिधित्व रहेको संस्थाका सचिव शंकर भट्टराईले बताए ।
पूर्वीद्वार काँकरभिट्टामा रहेका सबै पर्यटकीय स्थललाई जोड्ने गरी पर्यटकीय रुट निर्माण गरिने र कालीखोला करिडरमा पैदल तथा साइकल लेन समेत बनाउने योजना रहेको संस्थाका अध्यक्ष खापुङले बताए । खापुङले कालीखोलाको पर्यटकीय स्थल बनाइने जग्गा व्यक्तिहरुको निजी स्वामित्वमा रहेको र त्यसलाई नेपाल सरकारले बाँध निर्माण गर्दा अधिग्रहण गरेको हुँदा त्यसको मुआब्जा जग्गाधनीले प्राप्त गरेपछि मात्र भौतिक संरचना निर्माणको काम अघि बढाइने समेत जानकारी दिए ।
सो स्थानमा धार्मिक रुपले अति महत्वपूर्ण पातालगंगा मन्दिर रहेको समेत जानकारी दिइएको छ । त्यहाँ मन्दिर बनाउने समेत केन्द्रको योजना छ ।
संस्थालाई आधिकारिता दिनका लागि जिल्ला प्रशासन कार्यालय झापामा दर्ताको प्रक्रिया अघि बढाइसकिएको र आजीवन सदस्य वितरण थालिएको सचिव भट्टराईले बताएका छन् ।
पर्यटन प्रबर्धनको अभियान सञ्चालन गरिने, खोलामा सरसफाइ गरिने, हरियाली विकास गरिने, पूर्वी नाकाबाट प्रवेश गर्ने पर्यटकलाई घुम्न आउन योग्य बनाइने लगायतका योजना संस्थाले अघि सारेको जानकारी दिइएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु