खुशी हराउँदै गएको दशैँ

2024-10-11 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । धेरै दुःख र पीडाका बीच यसवर्ष नेपालीहरुको महान पर्व बडादशैँ घर–घरमा भित्रिएको छ । असोज १७ गते बिहीबार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएसँगै बडादशैँ सुरु भयो । वढादशैं सुरु भएको आज आठौं दिन वितिसेको छ । यस वर्ष नवमी तिथि छैन त्यसैले भोलि विजया दशमी, नवदुर्गा भगवतीको प्रसाद स्वरुप सबैले घरघरमा टीका र जमरा लगाएर दशैं मनाइन्छ । हिन्दु धर्म संस्कार र संस्कृति मान्नेहरुका लागि बडादशैँको ठूलो महत्व र महिमा छ । यो पर्व आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन मनाउने प्रचलन छ । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो । त्यसमा पनि विजयादशमी मुख्य दिन हो ।
असत्यमाथि सत्यको विजयको रुपमा दशैँलाई हेर्ने गरिएको छ । भगवान श्री रामले रावणको अन्त्य गरेको र दुर्गा भगवतीले दानवको अन्त्य गरी विजयी हासिल गरेको उत्सवको रुपमा यो पर्व मनाइएको धार्मिक विश्वास छ ।
दशैँमा नवदुर्गा (हिन्दु धर्मकी शक्तिस्वरुपा देवी दुर्गा) को नौवटा रूप शैलपुत्री, ब्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पूजा तथा आराधना गरिन्छ । नवदुर्गा भवानीका यी नवरूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक÷एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ ।
दशौँ दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ । टाढा टाढादेखि आउने पाहुनाहरूले पूर्णिमासम्मै पनि टीका लगाएर आशिर्वाद लिने दिने गरिन्छ ।
दशैँमा घरबाट टाढा हुनेहरु, रोजगारीको सिलसिलामा होस् या पढाइको सिलसिलामा दशैँमा आफ्नो घर फर्कने गर्दछन् । बर्षौं विछोडिएकाहरु दशैँमै घर फर्कन्छन् । यसले परिवार र गाउँघरमा खुसी अनि उत्साह छाउँछ । तर, यस वर्षको दशैँले धेरैलाई खुसी बाँड्न सकेन ।
दशैँको तयारीमा जुटेका अधिकांश नागरिकको खुसी खोसियो दशैँको मुखमा । असोज ११ र १२ गते परेको अविरल वर्षाले सिंगो नेपाल बाढी र पहिरोको चपेटामा पर्याे । बाढी पहिरोमा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । घाइतेको संख्या एक सय ५८ पुगेको छ । यो संख्या अझै थपिन सक्ने सम्भावना उत्तिकै छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । जसोतसो गरेर दशैँको खुसी जुटाउने तयारीमा लागेकाहरु आफन्त र परिवार गुमाउनु पर्दा यतिखेर पीडामा छन्, देशले नै पीडाको सामना गर्नु परेको छ ।
हुनत विगत केही वर्षदेखि दशैँलगायत विभिन्न चाडपर्वहरु हुनेखानेहरुको पर्व बन्दै गएको छ । गरिब र असहायहरुका लागि दशैँ दशा जस्तै बनेर आउन थालेको छ । अर्थात दशैँ महंगो बन्दै गएको छ । दशैँमा ब्यापारीहरुले समेत मौकामा चौका हान्ने चलन पुरानो नै भइसक्यो । दशैँको मुखमा कालोबजारी मौलाउने गरेको छ ।
बजार मूल्य आकासिँदा गरिबका लागि दशैँ दशभन्दा कम छैन । केही वर्ष हामीले विश्वमहामारीको रुपमा फैलिएको कोरोनालाई भोग्यौं । विश्वमा आतंक मच्चाउँदै हामीसम्म आएको कोरोनालाई जितेर आज हामी सद्भाव साटासाट गर्ने अवसर त पाएका छौं । तर, त्यसले निम्त्याएको आर्थिक संकटबाट भने हामी माथि उठ्ने अवस्थामा छैनौं । देशको अर्थतन्त्र क्रमश ओरालो लाग्दै गएको छ । त्यसको प्रत्यक्ष असर उद्योग, व्यापार व्यवसाय हुँदै आमनेपाली नागरिकको भान्सासम्म पर्न थालेको छ ।
दशैँ उल्लास र खुसीको पर्व हो । तर, जीवन भोगाइको क्रमसँगै दशैँको उल्लास पनि फरक हुँदै गएको छ । दशैँ अनि वाल्यावस्था, त्यो एकादेशको कथा जस्तो आभास हुन थालेको छ, त्यसबेलाको खुसी सायदै अब कसैले अनुभूति गर्न पाउलान् जस्तो लाग्दैन । मिठो खाने अनि नयाँ कपडा लगाउने त्यो अवसर दशैँले मात्र जुराउँथ्यो ।
नागपञ्चमी आएपछि क्रमशः जनैपूर्णिमा त्यसपछि कुशे औंसी, हरितालिका तीज अनि त दशैँ भित्रिए जस्तो लाग्थ्यो । दिनमा एकदुई पटक त आंैला भाँचेरै गनिन्थ्यो अब दशैँ आउन यति दिन बाँकी छ भन्दै साथीहरुसँग कुराकानी हुन्थे । समय बितेको पत्तै हुँदैनथ्यो । दिनहरु कति छिटो बित्थ्यो ।
त्यसपछि सोहश्राद्ध बुबा आमाले सोहश्राद्धमा सोहै दिन रोटी खाँदा हामीले पनि रोटी नै खान्थ्यौं । सोहश्राद्ध सकिएसँगै नयाँ कपडा किन्न अनि दशैँको सौदा गर्न बुबाआमाको छलफल हुन्थ्यो, हामी नजिकै बसेर सुन्थ्यौं । हाम्रो दशैँको कपडा स्कूलकै ड्रेस हुन्थ्यो । नयाँ कपडा सिलाउन पाउँदा हाम्रो खुसीको सीमा नै हुँदैनथ्यो ।
नौरथा सुरु भएपछि गाउँमा लिङ्गे पिङ हाल्ने सल्लाह हुन्थ्यो । पिङको लठारो बाट्न गाउँमा सबैका घरबाट पाटा भेला पार्नु हुन्थ्यो । लठारो तयार भएपछि बाँस भेला पार्ने काम मिलेर गरिन्थ्यो । पिङ हालिसकेपछि बाटो सरसफाइको काम मिलेरै गरिन्थ्यो । त्यस बेलाको समाजको एकता लोभलाग्दो थियो । एकजनाले प्रस्ताव ल्याएपछि सबैले त्यस कुरालाई मान्ने चलन थियो । बाटो सरसफाइमा कोही हँसिया त कोही फरुवा लिएर भेला हुन्थे । माटोले नै भएपनि खाल्डाखुल्डी पुर्ने काम हुन्थ्यो । हाम्रो बुवा सामाजिक र धार्मिक क्षेत्रमा निक्कै अगाडि हुनुहुन्थ्यो । बुवाको कुरालाई प्राय सबैले मान्थे ।
त्यसबेला गाउँमा आधुनिक डिजाइनका पक्की घरहरु प्राय हुँदैन थे । हामी घरलाई सिँगार्न रातोमाटो र कमेरो माटो लिन गाउँभरिका १५–२० जना दिदीबहिनी तथा दाजुभाइहरु भेला भएर बहुवनस्थित रातमाटे डाँडा जान्थ्यौं । कमेरो र रातो माटो ल्याएर घर सिँगार्ने काम हुन्थ्यो । गाउँका सबै घर लिपपोत हुँदा गाउँ नै उज्यालो देखिन्थ्यो ।
त्यसबेलाको दशैँलाई सम्झाउने अर्काे महत्वपूर्ण काम थियो, दशैँका लागि चिउरा कुट्नु । नौ रथासँगै सबैका घरमा धान भिजाउने लहर नै चल्थ्यो । एकमन, दुई मन, नहुँदा पनि २० केजी धान सबैले भिजाउँथे । अनि ढिकीमा कुट्ने चलन थियो । षस्ठीसम्ममा सबैले चिउरा कुटिसकेका हुन्थे । चिउरा कुटेको आवाज गाउँभरि गुञ्जिन्थ्यो । हाम्रो घरैमा ढिकी थियो । गाउँका मानिसहरु पनि हाम्रोमा चिउरा कुट्न आउने गर्ने । ढिकी बजेको आवाजले मन पनि आनन्दित हुन्थ्यो ।
सप्तमी, अस्टमीमा गाउँमा खसी काट्ने चलन थियो । गाउँमा एक घरमा खसी काट्दा गाउँभरिका प्राय सबै भेला हुन्थे । १ किलोदेखि ४ किलोसम्म परिवारको संख्याको आधारमा मासु लग्थे । मासु भुटेर खाने भन्दा पनि झोल हालेर पकाउने चलन थियो । जाइदानो र मरमसला हालेपछिको त्यो स्वाद अहिले पनि जिब्रोमा छ । दशैँको टिका लगाएपछि बढीबाको घरमा त्यसपछि मावल जान्थ्यौं । बाटामा रोटेपिङको मजा लिँदै आफन्तका घरघरमा टिका र जमरा थाप्दै हिँड्थ्यौं ।
हाम्रो त्यसबेलाको मुख्य तार्गेट टिका भन्दा पनि दक्षिणमा बढी किन्द्रित हुन्थ्यो । पैसा पाइन्छ भनेपछि साइनोले आफन्त हुन् भनेका घरहरु छुटाउँदैन थियौं । चारआनादेखि ५ रुपैयाँसम्म दक्षिणा पाइन्थ्यो, घरैपिच्छे दहीचिउरा र कोला दिनु हुन्थ्यो अनि रुच्थ्यो पनि ।
समयको क्रमसँगै दशँैको रौनक हराउँदै गएको छ । पछिल्लो समय दशैँ दशा बनेर भित्रिएको छ । आधुनिकताले हाम्रो परम्परा र मौलिकता मासिएर गएको छ, दशैँमा खेलिने लिंगेपिङ दुर्लभ जस्तै बन्न थालेको छ । आधुनिक डिजाइनका घरहरुको निर्माण पछि घर लिप्ने चलन लगभग अबको पुस्तालाई थाहा नहुन सक्छ । एकमन चिउरा चाहिने परिवारमा १–२ केजी चिउरा र दुई दर्जन केराले दशैँ उत्रिएको छ अर्थात दशैँमा दहीचिउरा होइन, आधुनिक परिकार र मासुको अधिक प्रयोग बढ्न थालेको छ । जसका कारण हाम्रो स्वास्थ्य समेत दिनानुदिन कमजोर बन्दै गएको छ ।
दशैँमा आफूसँग नभए पनि ऋण काडेर अरुको देखासिखी गर्ने प्रचलन भएका कारण दशैँमा धेरैको अनुहार मलीन देखिन्छ । कपडा किन्न र मासु खान दशैँ नै पर्खनु पर्ने हाम्रो नेपाली समाज आधुनिकताको नाममा धेरै खर्चिलो हुँदै गएको छ । अरुलाई देखाउनको लागि ऋण काडेर चाडपर्व मनाउने गर्दा धेरैको जीवन निर्वाह कठिन हुँदै गएको छ । बजारमा पाइने अनेक किसिमको खानपान अनि मासुजन्य पदार्थको अधिक प्रयोगले हाम्रो स्वास्थ्यमा समेत त्यत्तिकै कमजोर बन्दै गएको छ । त्यसतर्फ पनि ध्यान दिन जरुरी छ ।
चाडपर्वमा शरीरको लागि आवश्यक भन्दा अत्यधिक बढी मात्रामा खानेकुराहरु खाइन्छ । सामान्यतः यो बेला हुने जमघटले गर्दा खानेकुराको दिनचर्यामा भारी फेरवदल आउँछ र जतिखेर पायो, त्यतिखेर खाने प्रचलन बढ्छ । यसरी एउटा नियमित दिनचर्या भन्दा फरक ढंगले जथाभावी खाने गर्दा पाचन प्रणाली सम्बन्धी समस्या, अपच, पखालाको जोखिम बढ्दछ ।
बढी मात्रामा नुन, तेल र चिसो पेयको अत्यधिक सेवनसँगै चिनीको पनि प्रयोग हुन्छ, जसले गर्दा रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीहरुमा नकारात्मक असर पु¥याउँदछ । दशैंमा बढी मात्रामा मासु खाइने हुनाले कब्जियतले पनि सताउन सक्छ ।
हामीले आधुनिकतालाई भन्दा पनि हाम्रो संस्कार र संकृति संरक्षणमा जुट्न जरुरी छ । पछिल्लो समय पाश्चात्य संस्कार र संस्कृतिको सिको गर्ने लहर चलेको छ । जसका कारण हाम्रो धर्म, संस्कार र संस्कृति अनि सभ्यताहरु कमजोर बन्दै गएका छन् । हाम्रा खुसी हराउँदै गएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु