सिद्धिखोला एकीकृत खानेपानी आयोजनालाई, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट रु १ करोड ५० लाख विनियोजन

2022-01-09 मा प्रकाशित

मेचीनगर,२५ पुस÷ मेचीनगरको उत्तरीक्षेत्र बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी आयोजनाको लाई सफल पार्न मेचीनगर नगरपालिका, विभिन्न राजनीति दलका प्रमुख प्रतिनिधि तथा बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानीतथा सरसफाइ समितिका पदाधिकारीबीच छलफल भएको छ ।

समितिलाई आयोजना कार्यान्वयन तथा व्यवस्थापनका लागि नेपाल सरकार खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरले पत्रचार गरे लगत्तै समितिले सर्वपक्षिय छलफल आयोजना गरेको समितिका अध्यक्ष सनतकुमार अधिकारीले जानकारी दिनुभयो ।

मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीको उपस्थितीमा भएको छलफलमा समितिका अध्यक्ष अधिकारीले नेपाल सरकार खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरले गरेको पत्रचारका विषयमा जानकारी गराउनुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट कार्यान्वयन हुने सिद्धिखोला बाहुनडाँगी एकीकृत खानेपानी आयोजना मेचीनगर १, २, ३ र ४ झापाको लागि केन्द्रीय खानेपानी आयोजना शीर्षकमा चालु आर्थिक बर्ष २०७८÷०७९ का लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । आयोजनाको डिपिआर समेत तयार भइसकेको र स्वीकृत नियम अनुसार कुल लागतको इस्टिमेट ३७ करोड ४३ लाख १५ हजार रुपैयाँको १ प्रतिशत नगद लगानी तथा १९ प्रतिशत श्रमदान गर्ने प्रावधान रहेको अध्यक्ष अधिकारीले छलफलमा प्रस्तुत गर्नुभयो ।

कुल लागत इस्टमेट को १ प्रतिशतले हुन आउने रकम ३७ लाख ४३ हजार १ सय ५० रुपैयाँ उपभोक्ता समिति तथा आयोजना कार्यालयको संयुक्त खातामा जममा गर्नुपर्ने पत्रमा उल्लेख छ । १९ प्रतिशत बराबरको हुन आउने ७ करोड११ लाख १९ हजार ८ सय ५० रुपैयाँ बराबर आम उपभोक्ताबाट श्रमदान जुटाउने प्रतिवद्घता सहितको निर्णय प्रमाणित गर्न समेत समितिलाई विभागले भनेको छ ।

आयोजनाका लागि आवश्यक पर्ने जग्गा निःशुल्करुपमा उपभोक्ता समितिले उपलब्ध गराउनुपर्ने प्रावधान अनुसार मेचीनगर १ निवासी कमल आचार्यले करीव १८ लाख रुपैयाँ मुल्य बराबरको ६ कठ्ठा र रत्नप्रसाद भट्टराईले १६ लाख रुपैयाँ मुल्य बराबरको ४ कठ्ठा जग्गा समितिलाई निःशुल्क उपलब्ध गराउनुभएको अध्यक्ष अधिकारीले छलफलमा सहभागीहरुलाई जानकारी गराउनुभयो । आयोजनाका लागि कम्तिमा ५÷५ कठ्ठा जग्गा आवश्यक पर्दछ । आयोजना निर्माणस्थल ‘क्लियर’ भए पश्चात बोलपत्र प्रक्रिया अघि बढाइने छ ।

नगरप्रमुख आचार्यले इलामको रोङ–६ स्थित सिद्धिखोलामा मुहान रहेको सिद्धिखोला बाहुनडाँगी एकीकृत खानेपानी आयोजना कार्यन्वयनका लागि छिमेकी जिल्ला इलामको सुर्याेदय नगरपालिका र रोङ्ग गाउँपालिकाका जनप्रतिनिधिहरुसँग समेत समन्वय र छलफल गर्नुपर्नेमा जोड दिनुभयो । सुर्याेदय नगरपालिका र रोङ्ग गाउँपालिकासँग् सम्बन्ध सुधार गरेर आपसी सहमती भएपछि मात्र आयोजनाको काम शुरु गर्न उहाँले सुझाँव दिनुभयो । वर्तमान तदर्थ समितिलाई यी सवै प्रक्रिया पुर्याउनलाई जिम्मावारी दिने छलफलले निर्णय गरेको छ ।

छलफलमा उपप्रमुख मीना पोखरेल उप्रेतीसहित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजनीति दलका स्थानीयदेखि जिल्ला, क्षेत्र नगर तहका प्रमुख प्रतिनिधिहरु, विभिन्न खानेपानी उपभोक्ता समितिका प्रमुख प्रतिनिधिहरुदेखि समाजसेवी,जग्गादातालगायत विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

छलफल बाहुनडाँगी सिद्धिखोला एकीकृत खानोपानी आयोजनाका अध्यक्ष सनतकुमार अधिकारीको अध्यक्षतामा भएको थियो भने उपाध्यक्ष मेघराज खड्काले स्वागत तथा सचिव किशोरकुमार दुललाले सञ्चालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु