मेचीनगर–५ मा बढ्यो बाँदर आतङ्क

2020-05-08 मा प्रकाशित

डम्बर बराल
मेचीनगर, २६ बैशाख÷ केहीसातादेखि मेचीनगर–५ मा बाँदरको आतङ्क बढेपछि किसानहरु चिन्तित बन्न थालेका छन् ।
पाक्न लागेको मकैबाली बाँदरले खाएर पूर्णरुपमा नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका हुन् ।
टोक्ला चिया बगानबाट ३०÷४० वटाको संख्यामा गाउँ पसेका बाँदरले पाक्न लागेको मकै मात्र नभएर घरभित्र राखेको खाद्यान्न समेत नष्ट गर्न थालेको मेचीनगर–५ स्थित राम मन्दिर टोलका दधिराम बरालले बताए । दिनैपिच्छे ठूलो संख्यामा बाँदर गाउँ पसेर बाली खाएर हैरान पार्न थालेपछि स्थानीयहरु दिनहुँजसो समूह बनाएर बाँदर खेदाउन थालेका छन् । उनीहरुले बाँदर खेदाउन कुकुरको समेत सहयोग लिने गरेका छन् । बराल भन्छन्–‘मकैका सुत्ला लागेदेखि सुरुमा थोरै संख्यामा बाँदर आउने गर्थे, अहिले त बच्चासहित आउने गरेका छन् ।’ बिहानदेखि बेलुकासम्म खेतमै बस्दा समेत मकै जोगाउन नसकिएको र मानिसले मात्र खेदाउँदा पार नलागेकाले कुकुरको समेत सहयोग लिनुपरेको उनको भनाई छ । स्थानीय पशुपति गिरीले बाँदरले मान्छेलाई समेत आक्रमण गर्नसक्ने त्रास बढेको उनी बताउँछन् । गिरी भन्छन्–‘बालीमा मात्र होईन, अब त घरभित्रनै बाँदर पस्न थाल्यो, साना भुरा केटाकेटीहरुलाई आक्रमण गर्ला भन्ने त्रास बढन् थाल्यो ।’

सोही वडाका कुलबहादुर बुढाथोकीले बाँदरको आतङ्ककैकारण यसवर्ष मकै बाली लगाएनन् । अघिल्लो वर्ष लगाएको मकै बाँदरले सबै नष्ट गरिदिएपछि उनले यसवर्ष हाईब्रिड जातको मकै नलगाएको बताए । ‘के गर्नु घरको पनि काम गर्नै परो, एकछिन् बारीमा ध्यान दिएन भने बाली सखापै पार्छ, एकातिबाट खेदाउँदै गयो, अर्काेतिरबाट घरमै आइपुग्छ, अब त बाली पनि लाउन नपाईने भो’–उनले चिन्ता व्यक्त गरे । उता जागरण टोलमा समेत बाँदरको आतङ्क बढेको छ । सो क्षेत्रमा समेत स्थानीयहरु समूह बनाएरै बाँदर खेदाउन थालेका छन् । ‘बाँदरले गरिखान नदिने भो, बाली लगायो भित्र्याउन पाईँदैन, अब त पकाएको खाना समेत खाईदेला भन्ने पीर हुन थाल्यो ।’–जागरण टोलका ज्ञानबहादुर गुरागार्इँले दुःखेसो पोखे । उनी भन्छन्– अब त शरीरमा तागत पनि सकिँदै गयो, बाँदर धपाउँदा समेत आक्रमण गर्ला भन्ने डर छ ।’ ‘यस्तै अवस्था रहिरहे अब बाली कसरी जोगाउने ? मकै रोप्यो सुँगा र बाँदरलाईनै ठीक्क हुनेभो आफू त गोठालो मात्र । सँुगाले समेत त्यतिकै दुःख दिन्छ ।’–गुरागाईँले भने ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु