मेचीनगरमा ३सय बेडको क्वारेन्टाइन बनाइदैं,

2020-05-15 मा प्रकाशित

मेचीनगर,२जेठ । मेचीनगर नगरपालिकाले ३सय जनालाई राख्ने गरि क्वारेन्टाइन बनाउने भएको छ । शुक्रवार मेचीनगर नगरपालिकको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा वताइएको हो ।
भारतका बिभिन्न स्थानबाट नेपाल भित्रिने नेपालीहरुलाई राख्नका लागि मेचीनगर नगरपालिकाले ३सय बेडको क्वारेन्टाइन बनाउन लागेको पत्रकार सम्मेलनमा जनकारी गराइएको छ ।
मेचीनगरले यसअघि ३ वटा क्वारेन्टाइन आदर्श मावि मेचीनगर ८, धाइजन स्वास्थ्य चौकी भवन मेचीनगर ११ र मेची जनसाधारण मावि मेचीनगर ३ लाई क्वारेन्टाइनको रुपमा सञ्चालन गरिरहेको छ । अव रामघाट, राधा स्वामीको भवन पनि क्वारेन्टाइनको रुपमा प्रयोग गरिने भएको हो ।
सिमापारि अलपत्र रहेका नेपालीलाई ल्याउने बिषयमा झापाका सबै पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख लगायत मन्त्रालयस्तरको बैठक बसि मिति तय गरिनेसबैलाई सुरक्षीत ब्यवस्थापनका लागि काम गरिने नगर प्रमुख विमल आचार्यले बताए ।
भारत सरकारले दुई देश बिच भएको सहमती बिपरीत भारतमा रहेका नेपालीलाई नेपाल पठाउने काम गरेको बताउँदै नगर प्रमुख आचार्यले अहिलेको अप्ठ्यारो परिस्थितिमा देशको सिमाना अतिक्रमण गर्ने भारतीय कार्य निन्दनीय रहेको बताउँदै हरेक नेपालीले यसलाई डटेर सामना गर्ने बताउए । छिमेकी मुलुक भएर पनि यसअघि भएका सन्घि सम्झौताको बेवास्था गर्दै भारत सरकारले समय समयमा गर्दै आएका यस किसिमका गतिविधिको नगरपालिकोतर्फबाट घोर भत्सर्ना गरिने उनले वताए ।
नगरका नागरिकको सुरक्षामा नगर सरकार सचेत रहेको बताउँदै नाका बन्दीको अवधिमा पश्चिम सिमाबाट मेचीनगर प्रवेश गर्ने १३ सय बढीको स्क्रिनिङ गरिएको र १ सय ८२ जनालाई होम क्वारेन्टाइनमा बस्ने प्रबन्ध मिलाइएको समेत नगर प्रमुख आचार्यले बताए ।
त्यस्तै मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रेतीले मेचीनगर भर सञ्चालनमा रहेका बिभिन्न क्षेत्रका उद्योगहरुमा कार्यरत मजदुरहरुलाई अनिबार्य स्वास्थ्य सामग्री र परिचय पत्रको ब्यवस्था गरेर मात्र काममा लगाउन पाउने बताइन ।
नगरमा अहिले कम्तिमा ३ महिनाका लागि खाद्यान्न सिञ्चित रहेको बताउँदै खाद्य सामग्रीको कालोबजारी हुन नदिन मेची उद्योग वाणिज्य संघको सहकार्यमा निरन्तर अनुगमन गर्ने कार्य भइरहेको र।
भारतबाट मेची भन्सार हुँदै भित्रिने मालवाहक सवारी साधनहरुलाई स्प्रे गरी चालक र सहचालकहरुको आरडीटी सम्मको परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिइन ।
मेचीनगरमा अग्र भागमा रहेर सुचना सम्प्रेषणमा काम गर्ने पत्रकारका लागि यथाशिघ्र नगरपालिकाले स्वास्थ्य सामग्रीहरुको ब्यवस्था गर्ने गरिको तयारी भइरहेको नगरपालिका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले बताए ।
हाल मेचीनगरमा कोरोना भाइरसको परीक्षणसंगै मलेरिया, एचआइभीको परीक्षण समेत भइरहेको छ । हाल सम्म सय बढीको मलेरिया र दर्जनौंको एचआईभीको परीक्षण गरिएको छ ।कोरोना भाइरसको परीक्षणमा हाल २ सय १२ वटा आरडीटी र ५६ वटा पीसीआरको नमुना संकलन गरिएको छ । पीसीआरतर्फ ३० वटा नमुना नेगेटेभि आएको र थप २६ वटा पीसीआरको नतिजा आउने क्रममा रहेको समेत उपप्रमुख उप्रेतीले बताइन ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु